गाडीको ठक्करबाट १७ वन्यजन्तुको मृत्यु

२०७४ श्रावण ९ गते, सोमबार

काठमाडौं, ९ साउन । चितवनको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन् । जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन् । मरेका जनावरमा मृग र बँदेल रहेका छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ । तीव्र सवारीका कारण आवतजावत गर्ने वन्यजन्तु प्रभावित हुँदै आएका छन् ।
हाल सो क्षेत्रमा संयुक्त अप्रेशन क्याम्प खडा गरी गस्ती गरिँदै आएको छ । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि जुगेडीसम्मको सडक खण्डमा गत आवमा पाँचवटा वन्यजन्तु सवारीको ठक्करबाट मरेका छन् । पौडेलका अनुसार मर्ने जनावरमा रतुवा र मृग रहेका छन् । सो सडकको दुई ठाउँमा सडकमुनि जनावर आवातजावत गर्नका लागि बाटो निर्माण गरिएको भए पनि सो बाटोबाट जनावर खासै आवतजावत नगरेको उहाँले बताउनुभयो ।
जंगल क्षेत्रमा वन्यजन्तु जोगाउने हो भने आकाशे सडकको विकल्प नरहेको पौडेलको भनाइ छ । पानी पिउने, चरनका लागि र संसर्गका लागि पनि वन्यजन्तु आवतजावत गर्ने गर्छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु