गाजामा फेरि ३ दिन युद्धबिराम

२०७१ श्रावण २६ गते, सोमबार


काठमाडौं , २६ साउन। इजरायल र हमासबीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्धबिराम भएको छ । युद्धबिराम स्थानीय समय अनुसार गएराती १२ बजेदेखि लागू भएको छ । इजरायलका एक वरिष्ठ अधिकारीले ७२ घण्टे युद्धबिराम गर्ने इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्धबिराम पालना भए थप छलफलका लागि आफ्ना वार्ताकारलाई सोमबार इजिप्टको राजधानी कायरो पठाउने बताएका छन् ।
कायरोमा दुवैपक्षबीच भएको तनावपूर्ण वार्तापछि आकस्मिक रुपमा युद्धबिरामको घोषणा भएको बिबिसीले जनाएको छ । इजिप्टको विदेश मन्त्रालयले दुवै पक्षलाई अप्रत्यक्ष वार्ता जारी राख्न तथा बृहत् र स्थायी युद्धबिराम सम्झौताका लागि प्रयास गर्न आग्रह गरेको छ ।
इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेपनि गाजालाई निशस्त्रीकरण गर्नुपर्ने इजरायलको अडान र गाजामा नाकाबन्दी हटाउनुपर्ने प्यालेष्टिनी मागमा सहमति हुन सकेको छैन ।

प्रतिक्रियाहरु