गाउँपालिकाका अध्यक्षको करामत : सुरुकै बर्ष करोडभन्दा बढी भ्रष्टाचार

२०७४ चैत्र ७ गते, बुधबार

काठमाडौं, ७ चैत । कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादु सिंह र उपप्रमुख मोहनराज शाहीले गाउँपालीकाको रकमलाई मनोमानी रुपमा बाडेर करोडभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ । ‘गाउँगाउँ सिंहदरवार’ भन्दै नेपाली काँग्रेसबाट चुनाव जितेका सिंह र शाहीले संस्थागत रुपमा भ्रष्टाचार गरेको भेटिएको छ । सार्वजानिक खरिद ऐनअनुसार कुनैपनि सूचना प्रकाशन गरेर काम गर्नुपर्ने हुन्छ तर यो गाउँपालिकामा त्यो भएको छैन । बिल भरपाई विना नै अध्यक्ष सिंहले ५० लाख रकम आफू खर्च गरेका छन् । अध्यक्षले अध्यक्ष भ्रष्टाचार गरेको भन्दै वडा नम्बर ६ का अध्यक्षको संयोजकत्वमा छानविन समिति समेत बनेको थियो ।
अध्यक्ष र उपप्रमुखको मिलेमतोमा गाउँकार्यपालिका र गाउँसभाले निर्णय विनै कन्सल्टेन्टको लागि भन्दै १० लाख, डाँफे आप्र नकु मावि, डिल्लीकोट लेखगेला घोरेटो बाटोलगायतका योजनामा विना बिल भरपाईमै १ करोड रकम खर्च गरेको पाइएको छ । त्यस्तै लक्षित वर्ग, महिला, दलित, किसान र बालबालकाहरुलाई रकम विनियोजन भने बजेट विनियोजन गरिएको छैन । गाउँसभाले ४० लाख भ्रमण खर्च भनेर छुट्टाएपनि नियम विपरिप आफ्नो भाग भन्दै ४० लाख वितरण गरिएको पाइएको छ । गाउँपालिकाको कार्यसमितिले करारमा कर्मचारी नियुक्त गर्दापनि ऐन २०७४ नियमअनुसार नभई आचारसंगिता लागुभएकै बेलामा पनि कर्मचारीलाई नियुक्ति गरेको छ ।
त्यसैगरी बिरामी उपचारका लागि औषधि खरिद स्वास्थ्य कार्यालयले गर्नुपर्ने भएपनि गाउँपालिकाका जनप्रतिनिधिले सरकारबाट निःशूल्क उपलब्ध हुने औषधिको खरिद बिल बनाई रकम हिनामिना गरिएको छ । केही महिना अगाडि मात्र पान्तडीदेखि हिमढुङ्गा हँुदै कुनिसम्मको बाटोमा निमार्ण गर्ने क्रममा १३ लाख अनियमितता भएको स्थानीयले बताउँदै आएका थिए । सोही विषयको छानविन गर्न स्थानीय राजेन्द्र थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो । गाउँपालिकाले महावुअ पादम सडकमा ५५ लाख विनियोजन भएपनि हाल ४० लाखको काम मात्र गरेर बाँकी १५ लाख हिनामिना भएको भेटिएको छ । त्यसैगरी सामाजिक भत्ता पारदर्शी तरिकाले वितरण नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाल्दै आपत्ति जनाएका छन् ।
एमालेका महाबै गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माकेका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा सार्वजानिक खरिद ऐन बमोजिम कुनैपनि सामान खरिद नगरेर गाउँपालिका अध्यक्षले अनियमितता गरेको बताइएको छ । विज्ञप्तिमा छानविन गरेर कारवाहीको माग समेत गरिएको छ ।
यस्तो छ एमाले र माकेले संयुक्तरुपमा जारी गरेको विज्ञप्ति –

प्रतिक्रियाहरु