गर्भमा रहेका जुम्ल्याहा आपसमा कुटाकुट गर्छन !

२०७६ बैशाख ५ गते, बिहीबार

काठमाडौँ, ५ वैशाख । एक चिनियाँ महिलाको गर्भमा रहेका जुम्ल्याहाले आपसमा कुटाकुट गरेको ‘अल्ट्रासाउन्ड’ भिडियो अहिले भाइरल भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि ती महिला अस्पताल गएको बेला उनका पतिले उक्त भिडियो लिएका थिए । ताओ नाम गरेका उनले भने, ‘पत्नीको स्वास्थ्य परीक्षण गर्दा मैले भिडियो लिएको थिएँ ।’ यिनचुआन निवासी उनले उक्त भिडियो गत वर्षको रहेको जानकारी दिँदै अहिले ती जुम्ल्याहाको जन्म भइसकेको बताए । भिडियोमा गर्भभित्रै जुम्ल्याहा आपसमा कुटाकुट गरिरहेका देखिन्छन् । ताओले पत्नीको गर्भमा रहेका आफ्ना बच्चाको भिडियो यसरी भाइरल बन्छ भनेर नसोचेको पनि बताए । दुई दिनअघि युट्युबमा राखिएको सो भिडियो तीन लाख ८४ हजारभन्दा बढीले हेरिसकेका छन् ।
जुम्ल्याहा छोरी पाएकोमा दंग पर्दै उनले भने, ‘उनीहरुको नाम मेरी पत्नीकै मनपर्ने फलबाट राखिएको छ, एउटाको नाम चेरी र अर्कोको नाम स्टबेरी राखेका छौं ।’
कतिपय युजरले उक्त भिडियोका बारेमा कमेन्ट गर्दै ती बच्चा ‘बक्सर’ बन्ने टिप्पणी गरेका छन् । ताओ भने आफ्ना बच्चाले आपसमा कुटपिट गरेको नभई अंकमाल गरेको अर्थ लगाएका छन् । भिडियोमा देखिएजस्तो भविष्यमा उनीहरु त्यसरी झगडा नगर्नेमा उनी विश्वस्त छन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु