गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने

२०७५ जेष्ठ १३ गते, आईतवार

काठमाण्डौ, १३ जेठ । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाइने भएको छ । गर्भपतनसम्बन्धी कानुन संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानुनलाई उदार बनाइने भएको हो ।
जनमत संग्रहमा ३३.६ प्रतिशतले भने अहिलेको कानुनलाई नै निरन्तरता दिनुपर्ने मत जाहेर गरेका छन् । आयरल्यान्डमा अहिले गर्भपतनलाई अवैध मानिन्छ । अहिलेको संविधानमा गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चालाई पनि समान अधिकार रहेको उल्लेख छ । गर्भपतनको कानुनलाई परिवर्तन गर्ने पक्षमा मत आएपछि अब आयरिस सरकारले ल्याएको प्रस्तावअनुसार गर्भावस्थाको १२ हप्ताभित्रमा महिलाले गर्भपतन गर्न पाउनेछन् ।
महिला अधिकारकर्मीहरुले गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाउनुपर्ने माग गर्दै आएपछि जनमत संग्रह गरेको हो । गर्भपतनसम्बन्धी प्रतिबन्ध हट्ने भएपछि त्यहाँका महिलाले खुसीयालीमा जुलुस निकालेका छन् । आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले इतिहास रचेको बताएका छन् । उनले गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए । जनमत संग्रहमा मतदातालाई आठौं पटक संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु