गणतन्त्र माओवादीले ल्याएको हो : विप्लव

२०७१ फाल्गुन १५ गते, शुक्रबार

काठमाडौँ । जनक्रान्तिका सहिद परिवार संगठन र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व राजा ज्ञानेन्द्र शाहको जेलमा रहेका संसदवादी दलका नेताहरुलाई मुक्त गरेर देशमा गणतन्त्र ल्याउन माओवादी सफल भएको बताएका छन् । अहिले तिनै नेताहरु जनयुद्धलाई बदनाम गर्न षड्यन्त्र गरिरहेको बताउँदै महासचिव विप्लवले त्यसप्रति कडा आपत्ती जनाएका छन् । उनले राजाको जेलबाट मुक्त गरेर जनआन्दोलनको उठान नगरिएको भए उनीहरु अहिले पनि जेलमै रहन्थे भने । उनले नेपाली काँग्रेस र एमालेले विगतमा भएका सहमतिहरु तोडेर अहिले एकलौटी राज्य सत्ताको दुरुपयोग गरिरहेको बताउँदै ती सहमतिहरु पूरा नगरिएमा आफूहरु बाध्य भएर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले संसदीय व्यवस्था आफूहरुले कुनै हालतमा पनि स्वीकार गर्न नसक्ने प्रष्ट पारे ।
महासचिव विप्लवले कांग्रेस र एमालेसँग त्यतिबेला रोल्पामा पाँच बुँदे सहमति भएको र त्यसकै आधारमा पछि १२ बुँदे, बृहत् शान्ति सम्झौता भएको बताए । त्यसैका आधारमा बनेको अन्तरिम संविधानका कुनै पनि व्यवस्था समेत लागु नगरिएको उनले बताए ।
अहिले आएर काँग्रेस र एमालेभित्रको एउटा दलाल गुटले महान् जनयुद्धलाई आतङ्ककारी गतिविधिका रुपमा चित्रित गर्न लागिपरेको र जनयुद्धका नेता कार्यकर्ताहरुलाई अपराधी बनाउन लागेको बताउँदै त्यसप्रति कडा आपत्ती उनले जनाए । उनले २०६० सालको म्याग्दीमा भएको फौजी कार्वाहीलाई लिएर मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले घटनालाई बदनाम बनाउन थालेको बताए । आफूहरुले बेनीमा कब्जा गरिएका तत्कालीन प्रमुख जिल्ला अधिकारी, डिएसपी लगायतका ७२ जना सेना र पुलिसलाई रोल्पाको थवाङबाट आइसीआरसीलाई ससम्मान बुझाएको स्मरण गराए ।
सम्मेलनको उद्घाटन गर्दै महासचिव विप्लवले माओवादीहरु फुटेको नभई, २०५२ मा जुन उद्देश्य लिएर जनयुद्ध लडिएको थियो, त्यो उद्देश्यबाट केही नेताहरु च्यूत भएर पाखा लागेको बताए । माओवादी आन्दोलनको धारा निरन्तर अगाडि बढिरहेको बताउँदै आफूहले जनयुद्धको लक्ष्य र उद्देश्य पूरा गरेरै छाड्ने अठोट व्यक्त गरे ।
लखन थापा, झापा विद्रोह, २०३६, मित्रमणि आचार्य, शिव पौडेल, २०४६ साल, जनयुद्ध विभिन्न वर्गीय र राष्ट्रिय मुक्ति आन्दोलनमा सहिद भएको, बेपत्ता पारिएका योद्धा र घाइते योद्धाहरुको सपना पूरा गर्नका लागि नयाँ क्रान्ति अब सुरु हुने उनको भनाई थियो ।
महासचिव विप्लवले उद्घाटन मन्तव्यको क्रममा भने, “हामी कि त खरानी हुन्छौं, कि त देश र जनतालाई मुक्त गरेरै छाड्छौं ।”
उनले अबको लडाइँ सेना र पुलिससँग नभई देश बेच्ने, जनता र राष्ट्रका विरुद्ध घात गर्ने दलालहरुका विरुद्ध हुने बताए । उनले सो क्रममा सबै सहिद परिवार र बेपत्ता योद्धा परिवारको सम्पूर्ण जिम्मा आफूहरुले लिने बताए ।
नयाँ जनवादी क्रान्ति सम्पन्न नभइकन जनताका समस्या र पीडा नसकिने बताउँदै एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
सम्मेलनमा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, राष्ट्रिय युवा जनस्वयम्सेवकका संयोजक उदयबहादुर चलाउने, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष देवकला अधिकारी, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अशोक पोख्रेल, जनक्रान्तिका घाइते तथा अपाङ्ग संघका केन्द्रीय संयोजक प्रेमबहादुर बयकले शुभकामना दिएका थिए ।
बर्दियाको बाँसगढीमा सुरु भएको संयुक्त सम्मेलनले जनक्रान्तिका सहिद परिवार संगठनको अध्यक्षमा खुमा सुवेदीलाई चयन गरेको छ भने राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको अध्यक्षमा अशोक रोकायालाई चयन गरेको छ । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजका संयोजक एकराज भण्डारीको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन जनक्रान्तिका सहिद परिवार संगठनकी संयोजक खुमा सुवेदीले गरेकी थिइन भने सहिद परिवार अशोक रोकायाले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु