गढीमाईमा पशुबलि, मासु व्यवस्थापनमा विवाद

२०७१ मंसिर १३ गते, शनिबार


काठमाडौँ । बाराको गढीमाई मन्दिरमा आजदेखि बोका, सुंगुर, पाठीलगायतकाको बलि सुरु भएको छ । भाकल गरेकाहरुले आजदेखि मेला सम्पन्न नभएसम्म पशुबलि दिन्छन् ।बलि दिइने यस्ता साना जनावर भने कालो नै दिइन्छ । पहिलो दिन शुक्रबार राँगा बलि दिइएको थियो । शुक्रबार झन्डै ६ हजार राँगाबलि चढाइएको गढीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
अघिल्लोपटकको तुलनामा भने यो एक चौथाई मात्र रहेको बताइएको छ । यसभन्दा अगाडिको मेलामा १५ हजारको हाराहारीमा राँगा बलि दिइएको थियो ।
उता, बलि दिइएको राँगाको मासु व्यवस्थापनको विषयमा विवाद भएको छ । बारा, पर्सा र रौतहटका ‘दलित समुदाय’ले राँगाको मासु नलाने लिखित प्रतिबद्धता जनाएपनि बलि चढाइएका सबै राँगा लगेपछि गढीमाई विकास समिति र ‘दलित समुदाय’बीच विवाद भएको हो ।समितिका अध्यक्ष रामचन्द्र साहले १ करोड ६० लाख रुपैयाँमा मासु व्यवस्थापनको लागि ठेकेदारलाई टेन्डर दिइएकामा ‘दलित’हरुले मासु लगेकाले उनीहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी दिए । ‘दलित समुदाय’ले छाडेका टाउको र आन्द्रा–भुँडी भने शनिबार गाडिएको छ ।
मुख्य पुजारी चौधरी रहेको यस मन्दिरमा तान्त्रिक विधिबाट आफैं दीप प्रज्वलित गराएपछि पञ्चबलिको रुपमा सेतोमुसा, सुंगुर, बोका, राँगा, कुखुरा र हाँस बलि चढाएर शुक्रबारदेखि बलि आरम्भ गरिएको हो ।मान–प्रतिष्ठा, सुख, सम्मृद्धि एवं इच्छित सन्तान प्राप्तिका लागि श्रद्धालु भक्तजनले भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि आ–आफ्ना भाकलअनुसारका बलि यहाँ चढाउने परम्परा रहँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु