खोप्रालेक आकर्षक पर्यटकिय स्थल बन्दै

२०७१ आश्विन १८ गते, शनिबार


काठमाडौं। अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत शिख–६ मा पर्ने खोप्रालेक पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।सामुदायिक तवरबाट सञ्चालनमा ल्याइएको यस क्षेत्रको भम्रणका लागि पदमार्ग हुँदै आउने पर्यटकलाई खोप्रालेक भू–दृश्यका लागि महत्वपूर्ण स्थल मानिन्छ । आन्तरिक पर्यटकले छोटो समयमा खोप्राको भम्रण गर्न चाहेमा पाउद्वारदेखि करिब पाँच घण्टा पैदलयात्रा गरेपछि सहजैरुपमा पुग्न सकिन्छ खोप्रालेक ।
समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा रहेको खोप्रालेक प्राकृतिक सौन्दर्यता र भौगोलिक बनावटले दृश्यावलोकनका लागि उपयुक्त केन्द्र बन्दै गएको छ । खोप्राबाट अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, धौलागिरि प्रथमदेखि पाँचौँ रेन्ज, गुर्जा पिक, टुकुचे पिक, धम्पुस पिकलाई नजिकैबाट अवलोकन गर्न सकिने हुँदा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
वरिपरि हिमाल र डाँडाकाँडाले सजिएको खोप्राबाट देखिने बादल र हिमालको लुकामारीले त्यहाँ पुग्ने जो कोहीको मनलाई मोहित बनाउने गर्छ । म्याग्दी, पर्वत, बाग्लुङ र कास्कीको समेत केही भेगको अवलोकन गर्न सकिने र आँखै अगाडि देखिने सेताम्मे हिमशृङ्खलाले पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्ने गर्छ ।
यो क्षेत्रको भम्रणमा आउने पर्यटकले स्थानीय सामुदायिक विद्यालय सञ्चालनका लागि पालिएका चौंरीगाईको अवलोकनसमेत थप आकर्षण भएको खोप्रामा सञ्चालित सामुदायिक लज व्यवस्थापन समितिका कोषाध्यक्ष भीम पुनले बताउनुभयो ।
मौसम र स्वास्थ्यले साथ दिएमा खोप्रासँगै अन्नपूर्ण हिमालको फेदी चार हजार ५०० मिटरको उचाइमा अवस्थित खयरबाराही तालको पनि भ्रमण गर्न सकिन्छ । यहाँबाट अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

प्रतिक्रियाहरु