खोकनामा किसान र प्रहरीबीच झडप

२०७७ असार २० गते, शनिबार


काठमाडौँ, २० असार । ललितपुरको खोकनामा प्रहरी र स्थानीय किसानबीच झडप भएको छ । काठमाडौं निजगढ द्रुतमार्गका लागि अधिग्रहण प्रक्रियामा रहेको जग्गामा स्थानीयले आज रोपाइ गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।
किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएको भन्दै खनजोत गरी रोपाइँ गरेका थिए । फाष्ट ट्रयाक पर्ने जमिनमा नै स्थानीय किसानहरुले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित थियो । आक्रोशित किसानहरुको समूहलाई लक्षित गरी प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हानेका थिए । जसका कारण केही व्यक्ति घाइते भएका छन् । यसअघि असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। तर किसान भने मुआब्जा नपाएको जग्गामा धान रोपेर नै छाड्ने अडानमा छन् ।

प्रतिक्रियाहरु