खोई सरकारको सक्रियता ?

२०७६ फाल्गुन २५ गते, आईतवार

विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेको छ, भलै अहिलेसम्म कोही पनि नेपाली कोरोना भाइरसको शिकार बन्नुपरेको छैन । कोरोना भाइरस रोक्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चौतर्फी विरोधका स्वरहरु गुञ्जिरहेका छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । यही मौकामा कालोबजारी मौलाएको छ । सामान्य औषधिलगायत खाद्यान्नसमेत बजारमा सजिलै नपाइने स्थिति भएको छ । हरेक सामानमा दश गुणाभन्दा बढी मूल्यवृद्धि गरेर कारोबार भइरहेका समाचारहरु सार्वजनिक भइरहेका छन् । तर, सरकार मौन छ । यस्तो बेला सरकार जुन ढङ्गले सक्रिय हुनुपर्ने हो, त्यो हुन नसकेको आमनागरिकको गुनासो छ भने अर्कोतिर नेपालमा कोरोना भाइरसको संक्रमण फैलिए त्यसबाट ग्रसितलाई व्यवस्थापन गर्ने विषयमा सरकारले झारा टार्ने किसिमले कार्य अगाडि बढाइरहेको जुन ज्यादै दुःखदायी विषय हो । सरकारको यही कार्यशैलीले नेपाली जनताको स्वास्थ्यमाथि ठूलो खेलबाड भइरहेको छ । जनस्वास्थ्यको विषय भागवान भरोसाको स्थिति रहेको छ । जुन ज्यादै निन्दनीय र लज्जाजनक विषय हो ।
तसर्थ, यस्तो बेला सरकार चनाखो बन्नेपर्छ । आमजनताको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले कोरोना भाइरस रोक्न उच्च सतर्कता अपनाउनैपर्छ । कोरोना भाइरसको त्रास देखाएर लुट्ने व्यापारी र कालोबजारियाहरुलाई सरकारले कडाभन्दा कडा कारवाही गरी ठेगान लगाउनैपर्छ । अन्यथा कोरोनाको त्रास र कालोबजारिया लुटको शिकार सरकार बन्न सक्छ । बेलैमा बुद्धि पु¥याउनु आवश्यक छ । अन्यथा जनआक्रोशको शिकार सरकार बन्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु