खेलाडीको मूल्य ९०० करोड भारतीय रुपैयाँ ?

२०७५ असार २८ गते, बिहीबार

काठमाडौं, २८ असार । फिफा विश्वकप फुटबल २०१८ अन्तिम चरणमा छ। यही बेला फुटबल जगतमा एउटा ठुलो खबर सार्वजनिक भएको छ। स्पेनको क्लव रियाल मैड्रिडका साथ ९ वर्ष बिताएपछि अब पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डो युभेन्टस फुटबल क्लवसँग जोडिने भएका छन् । यसैका साथ उनी फुटबल इतिहासका चार सबैभन्दा महंगा खेलाडीका रुपमा चर्चित बनेका छन्।
दुई क्लबबीच भएको करिब ९०० करोड भारतीय रुपैयाँमा ( रियलसँग ९९.२ मिलियन पाउण्डमा )सम्झौता भएपछि अब ३३ वर्षीय रोनाल्डो यो इटालियन क्लबको अंग बन्नेछन् । उनले भने–मेरो जीवनमा नयाँ चरणको सुरुवातको समय आएको छ, त्यसैले मैले क्लबसँग भनेँ कि मेरो ट्रान्सफर स्वीकार गरियोस्।
नेइमारलाई २०० मिलियन पाउण्ड तथा एम्बाप्पेलाई १६६ मिलियन पाउण्ड तिरेरे पीएसजीले क्लबमा भित्र्याएको थियो । त्यस्तै बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई भित्र्याउँदा लिभरपुललाई १४२ मिलियन पाउण्ड तिरेको थियो ।
खेलाडी ट्रान्सफरका सबैभन्दा खर्चिलो सम्झौता
१. नेयमार ब्राजिल–बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन–करिब १८२२ करोड भारतीय रुपैयाँ
२. कायलियन म्बापे, फ्रान्स–मोनाकोबाट पेरिस सेन्ट जर्मन–करिब १५१२ करोड भारतीय रुपैयाँ
३. फिलिप कुटिन्हो, ब्राजिल, लिभरपुरलबाट बार्सिलोना–करिब १२९३ करोड भारतीय रुपैयाँ
४. क्रिस्टियानो रोनाल्डो, पोर्चुगल–रियाल मैड्रिडबाट युभेन्टस्–करिब ९०० करोड भारतीय रुपैयाँ
३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।
फुटबलप्रेमीहरुलाई अब उक्त प्रतियोगिताको प्रतिक्षा रहनेछ जुन निकै चाँडै क्रिस्टियानो रोनाल्डोको भूतपूर्व र वर्तमान टिम अर्थात रियाल मैड्रिड र युभेन्टसबीच हुनेछ । दुवै टिम ४ अगस्तमा अमेरिकामा इन्टरनेशनल च्याम्पियन्स कप प्रतियोगितामा भिडन्त हुनेछ।
रियाल मैड्रिडका प्रशंसकहरुलाई सम्बोधन गर्दै रोनाल्डोले एउटा विदाई पत्र लेखेका छन् । उनले लेखेका छन् कि रियाल मैड्रिडका साथ उनका केही वर्ष उनको जीवनको सम्भवतः सबैभन्दा खुसीका दिन रहे ।
उनले लेखेका छन् –रियाल मैड्रिडले मेरो र मेरो परिवारको मन जित्यो । यो ९ वर्षमा मैले कयौ महान खेलाडीहरुविरुद्ध खेलेँ । त्यो सबैलाई मेरो सम्मान छ। -बीबीसी हिन्दीबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु