खुसी पत्ता लगाउने यन्त्र

२०७१ फाल्गुन ९ गते, शनिबार

काठमाडौँ । मानिस खुसी छ कि छैन भन्ने कुरा थाहा पाउन दार्शनिक, कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन विताएका छन् र उनीहरू असफल भएका छन् तर जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै काममा खुसी छन् कि छैनन् भन्ने थाहा पाउन नयाँ उपाय फेला पारेको बताएको छ । हिताची नामक बहुसंस्था भएको सङ्गठनको एउटा सानो संस्था हिताची हाइ टेक्नोलोजीजले खुसी नाप्ने एक यन्त्र तयार गरेको र यसले कर्मचारी खुसी छ कि छैन भन्ने विषयमा उसका मालिकलाई जानकारी दिने बताएको छ । साथै यस उपकरणले आफ्ना कुनै कर्मचारी भित्रभित्रै दुःखी भएको छ भने यसका विषयमा पनि उक्त कर्मचारीका मालिकलाई जानकारी दिने बताइएको छ । यस कम्पनीले क्रेडिट कार्ड आकारको लगाउन मिल्ने यन्त्र तयार गरेको र त्यसमा रहेका सेन्सरले उपकरण लगाउने व्यक्ति बसिरहेको, उठिरहेको, टाइप गरिरहेको वा सुतिरहेको छ भन्ने थाहा पाउने जानकारी दिइएको छ ।
यस यन्त्रले कुन कर्मचारी कोसँग कति समय कुरा गरिरहेका छ र अन्य क्रियाकलाप गरिरहेको छ भन्ने विषयमा पनि रेकर्ड राख्ने बताइएको छ । उक्त उपकरणले यी तथ्याङ्कलाई मुख्य कम्प्युटरमा पठाउने, त्यहाँ यसलाई सम्पूर्ण कर्मचारी खुसी भएको वा नभएको विषयमा तुलना गरिने, त्यसलाई पहिले नै तय गरिएको लक्ष्य अनुसार मापन गरिने र त्यसका आधारमा कर्मचारी खुसी भएको वा नभएको वा ऊ स्वस्थ्य भएको वा नभएको भन्ने जानकारी प्राप्त गर्न सकिने बताइएको छ । हिताचीले यस उपकरणका कारण कर्मचारीले आफ्नो खुसी हुने उपाय पत्ता लगाउने, त्यसले समूहको खुसी बढाउन सक्ने र अन्त्यमा त्यसले उत्पादकत्व बढाउने जानकारी दिएको छ । मानिसको मस्तिष्कको अवस्थाका विषयमा जानकारी दिने यस्तो उपकरण अप्रिल महिनामा बजारमा आउने र यस्ता प्रति उपकरणको वार्षिक लागत एक लाख ऐन अर्थात ८४० अमेरिकी डलर पर्ने जानकारी दिइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु