खसोग्जीको घाँटी थिचेर हत्या गरिएको दाबी

२०७५ कार्तिक १५ गते, बिहीबार

काठमाडौं , १५ कार्तिक । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको घाँटी रेटेर हत्या भएको जिकिर गरेको छ । खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी गरेको हो ।
गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो । टर्कीले खशोग्जीको हत्या नियोजित भन्दै हत्यापश्चात उनको शव टुक्रा–टुक्रा पारेर नष्ट गरेको पनि दाबी गरेको छ ।
यद्यपी टर्कीले आफ्नो दाबीको समर्थनमा कुनै पनि सबूत भने पेश गर्न सकेको छैन । साउदी अरबले पनि टर्कीको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । खशोग्जीको हत्यामा साउदी अरबको शाही परिवार संलग्न भएको आरोप लाग्दै आएको छ । साउदी सरकारले यो आरोपको खण्डन गर्दै आएको छ । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले गतहप्ता साउदी युवराज मोहम्मद बिन सलमानसँग घटनाका सम्बन्धमा कुराकानी गरेका थिए । त्यसक्रममा युवराज सलमानले हत्याकाण्डको जाँचमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रियाहरु