खण्डाको खण्डहर – बलराम तिमल्सिना

२०७५ मंसिर २४ गते, सोमबार

खण्डा गार्मेन्ट
एउटा टाट उल्टिएको उद्योगको पुरानो घर
अर्थात एउटा खण्डहर
त्यही खण्डहरमा बस्छन
टाट उल्टिएका मान्छेहरू
केही खण्डहर जिन्दगीहरू !

कुनै उत्सव छ भने सत्ताको
त्यहाँ तुरुन्तै आदेश पुग्छ –
‘एति वटा नाच चाहियो
एति वटा गीत चाहियो
नाटक, अपेरा सवै कुरा
खाना-खाजा र गाडी भाडाको व्यवस्था छ !’

आदेश आएपछि सत्ताको
लौ पार्टीले विर्सेको रहेनछ भन्दै
कृतज्ञताको अनुहार सहित
तिनीहरू हतार हतार जुट्छन
र आफ्नो तयारी गर्न थाल्छन !

आज नेतासँग हात मिलाउँन पाइन्छ
अपेक्षासहित फिस्स हाँस्न पाइन्छ
सरकारी खाजा र खाना पाइन्छ
फर्कदा भाडा पनि पाइन्छ
यस्तै यस्तै सोचेर
कवाडी सामानजस्तै
सस्ता जिन्दगीहरू
मनमनै पुलकित हुन्छन !

तिनीहरू सवै पुराना कमरेड हुन
कुनै वेला तिनीहरूको खुव मनितो थियो
बस्ने डेरा हुन्थ्यो सिङ्गै घर
घुम्नलाई गाडी सुविधा थियो
खाई-खर्च पकेट खर्च सवै थियो !

जव नेताहरू विस्तारै धनी भए
र पार्टी पूँजीपतिको बन्यो
‘अव खर्च पेल्न सकिन्न
हामीलाई त धौ धौ छ
आफ्नो सुर गर्नु ‘
यस्तो घोषणा गर्यो पार्टीले !

जव कमरेडहरूले
गोप्य रुपमा घर बनाए
त्यही सेरोफेरोबाट
यिनीहरू खण्डहरमा आइपुगे !

कमरेडहरूसँगै
ढाडमा टेकेर टाउकोमा हान्न
सुदूर गाउँबाट छिरेका ती
अचेल आफ्नै टाउकामा मुड्की हान्छन
अचेल कमरेडहरूलाई गाउँन नाच्न
परफेक्ट कमरेडहरूको खाँचो छ
यी पुरानै गीत मन पराउँनेहरू
घाँडो बनेका छन कमरेडलाई !

जुन दिनदेखी मुखिया कमरेडलाई
नारायण गोपाल मन पर्यो
त्यही दिनबाट हो
यी कमरेडहरूको भाऊ घटेको !

यो खण्डहरमा आइपुग्दा
प्राय सवै सिङ्गल थिए
अचेल प्राय मिङ्गल भएका छन
र कतिले त
मुसाजस्तै ससाना बच्चा पनि कोरलेका छन !

सुकेनासले सुकेजस्ता
चाउरिएका , दाउरिएका
उमेरमै बुढा बुढी भएका
अलपत्र र असरल्ल
केही जिन्दगीहरू बस्छन
खण्डाको खण्डहरमा !

खण्डाको खण्डहरमा
केही थान मानिस अझै बस्छन
तपाई आश्चर्य मान्नु होला
ती सवै सत्तापक्षीय हुन
उता खुमलटारमा
राजा कमरेड बस्छन
एता खण्डहरमा
रैति कमरेडहरू बस्छन !

भत्केको घर
भत्केको जिन्दगी
र भत्केका सपनासहित
खण्डाको खण्डहरमा
सत्ताधारी मान्छेहरू बस्छन !

प्रतिक्रियाहरु