क्रान्ति सम्पन्न हुन बाँकी छ – डा. भगवानचन्द्र ज्ञवाली

२०७४ मंसिर २८ गते, बिहीबार

पुरानो रक्सी नया बोतलमा हाल्दैमा वा पुरानै बोतलमा नयाँ लेबल चढाउँदैमा रक्सी नयाँ हुँदैन । जनआन्दोलनले राजतन्त्रलाई जनअलदातमा उभ्याएर निलम्बन गर्दैमा न राजतन्त्रको अन्त्य भएको मानिन्छ न ब्वाँसाहरूलाई धपाएर मृगचर्म ओढेर आउने स्यालले राजतन्त्रको प्रतिस्थापन गर्दैमा क्रान्ति सम्पन्न भएको गुड्डी हाँक्नु आत्मश्लाघाभन्दा बढी केही हुनसक्दैन । जनताले चाहेको क्रान्ति सम्पन्न हुन अझ बाँकी छ । क्रान्ति र परिवर्तनका नेपाली जनता त्यसका संवाहक र परिणामका भोका पनि हुन् । अतः कुनै पनि जनविद्रोह वा जनसङ्घर्ष क्रान्ति हो वा होइन अथवा सफल भयो वा भएन भन्ने कुरा जनताका भोगाइ र त्यसका सचेतन अभिव्यक्तिले पुष्टि गर्दछ ।
ने.क.पा माओवादीका नेतृत्वमा सञ्चालित दशवर्षे जनयुद्ध र त्यसका पृष्ठभूमिमा २०६२–६३ मा भएको १९ दिने अपूर्व जनआन्दोलन अहिले क्रान्ति मानिन सक्छ वा सक्दैन भन्ने कुरा त्यसका आरम्भमा उद्घोषित उद्देश्यअनुसार परिणामको अनुभूति जनताले आजसम्म गर्न पाए वा पाएनन् भन्ने वस्तुगत तथ्यले पुष्टि गर्दछ । तत्कालीन माओवादी पार्टी र सातदलका बीच भएको शान्तिवार्ता र शान्ति सम्झौताको भएको दिव्य बाह्र वर्ष र दुदुईपटक निर्वाचित संविधान सभाबाट निर्माण भएको संविधान कार्यान्वयन भएको पनि वर्षदिन भइसकेको छ । अन्तर्राष्ट्रिय अनुभव र समाजविकासको गतिअनुसार सशस्त्र विद्रोहको परिणाम प्राप्तिका लागि यो समय खासै पर्याप्त होइन तथापि कर्मवीरका लागि कुनै कुराले छेकबार लाउँदैन भन्ने कुरा पनि अन्तर्राष्ट्रिय अनुभवले देखाइसकेको छ । हिजो जुँगाा रेखीसमेत नबसेका मुलुकहरू आज नौजवान भएर विश्वशक्ति सामु प्रतिस्पर्धामा उभिइसकेका छन् । विकृति र विसङ्तिलाई छोड्ने हो भने हामी यस दश बाह्रवर्षमा एक पाइला पनि अघि बढका छैनौं । नेपाली शान्तिप्रक्रिया अन्त्य भएको घोषणा भइसकेको छ तर घरभित्रका कलहले छिमेकी हँसाउने कुरामा बाहेक केही गर्न नसकेका कुराले फेरि जनताले २००७ सालकै चाहना अनुकूल परिवर्तनका लागि नयाँ शक्तिको पछि लाग्नु पर्ने परिस्थिति बन्दै गएको त होइन भन्ने आशङ्का उब्जनु सचेत बौद्धिक वर्गका चियापसलको गफको विषय बन्नथालेको देखिन्छ । नेताहरूको विचारको ध्रुबीकरण मात्र पनि अझै पूरा भएको छैन । जनचाहना मुताबिक परिवर्तनका लागि कानफुक्नेहरूका मतमा लाग्ने र जुङ्गे लडाइँ सदाका लागि नत्यागेसम्म कसैबाट केही माखो नमर्ने निश्चित छ । सामूहिक रूपान्तरणका लागि या त सामाजिक सांस्कृतिक सङ्घर्षको थालनी हुनुप¥यो या आमूल आर्थिक संरचनाको स्थापना हुनुप¥यो । गणतन्त्रका समयमा पनि जनताका नेताले जनचाहनाको उपेक्षा गर्नु र अद्यापि ‘राजाको काम कहिले जाला घाम’ उखान चरितार्थ गर्ने कर्मचारीतन्त्र र अन्य प्रशासनिक एकाइहरूमा समेत यथास्थितिवादी, परमुखापेक्षी र जनतालाई आफ्ना लैना गाइ ठान्ने प्रवृत्ति कायम रहनु परिवर्तनको सबैभन्दा ठूलोबाधक हो । जनआन्दोलन–२ ले सडकबाट नै सामन्ती निरङ्कुश राजतन्त्रको अन्त्य गरी देशमा विद्यमान सबैखाले असमानता र पारस्परिक सम्मान दिंदै सम्पूर्ण नागरिकलाई राष्ट्रको मालिक बनाउने गणतन्त्रात्मक व्यवस्थाको उद्घोष गरेको थियो । जनताले जनयुद्ध नै मानेर समर्थन दिएको र १७ हजार होनहार जनताको गरेको बलिदानीको अपमान गर्दै नेताहरूले संविधानमा त्यसको निसानसम्म राख्न तयार भएनन् । राजा हटेर मात्र राजतन्त्रको अन्त्य भएको मानिंदैन किनभने कर्मचारीतन्त्रमा उही मनोवृत्ति हाबी छ भने नेताहरूमा राजतन्त्रको अमूर्त तत्त्व विन्यस्त छ । नेताहरू आफैलाई जन्मदै नेता भएर जन्मेको ठान्दछन् । माओले भनेझैं सधै सबैलाई ढाँटिरहन सकिंदैन भन्ने कुरा बुझेर नेताहरूले कम से कम पद्यसम्सेरको बोली म जनताको नोकर हुँ भन्ने आँट गर्न र त्यसलाई व्यवहारमा उतार्न तयार हुनुपर्छ नत्र जुन जोगी आएपनि कानै चिरको भए भने जनताले समग्र हितका लागि अर्काे विकल्प किन नरोज्ने भन्ने प्रश्न सहजै उठ्नेछ । जनयुद्धकालमा सामन्ती अधिनायकवादी हैकमवादी व्यवस्थाको अन्त्य गर्दै नयाँ जनवाद (प्रगतिशील पुँजीवाद) मार्फत् समाजवादको स्थापनाको अभिमत जाहेर गरेका थिए भन्ने कुरा माओवादीले पहिलो संविधान सभाको निर्वाचनमा ल्याएको मतले प्रस्ट पार्छ तर हुतिहाराहरूका हातमा शक्ति गयो भने त्यसले आफ्नै घात गर्छ भनेझैं भएको छ । स्वावलम्बी स्वाभिमानी नागरिक नभएसम्म जनताको शिर माथि उठ्दैन भन्ने कुरा दार्जिलिङ्बाट सिके हुन्छ र मुलुकले अपेक्षित विकास पनि गर्नसक्दैन । साम्प्रदायिक मित्रता र जातीय एकता पनि राष्ट्रिय अखण्डताका लागि अनिवार्य हुन्छ ।
प्रत्येक नेपाली पहाड, हिमाल, तराइ जहाँसुकै बसोबास गर्ने भएपनि सबै प्रकारका शोषण र अन्यायबाट मुक्त भएर आत्मगौरवले शिर ठाडो पार्दै एकीकृत समृद्ध नेपालको नागरिक भएर बाँच्न चाहन्छ । माल्थसका भनाइअनुसार प्राकृति सम्पदाको यथोचित उपयोग गर्न पर्याप्त जनसङ्ख्या चाहिन्छ अर्थात् जनसङ्ख्याको चाप कम वा बेसी भएमा देशले उपयुक्त विकास गर्नसक्दैन । हाम्रो उब्जनीयोग्य जमीनका उपलब्धतालाई ध्यान दिने हो भने हाम्रो जनसङ्ख्या पर्याप्त भएपनि जनशक्तिको भने तलदेखि नै अभाव रहेका देखिन्छ । जबदेखि नेपाली युवारगतलाई विदेशी साम्राज्यवादी विस्तारवादी शक्तिराष्ट्रका पोल्टामा हालिदिने परम्पराको थालनी भएको छ तबदेखि नै आफ्ना जन्मभूमिप्रति अगाध माया भएर पनि अप्रत्यक्ष पराधीनताका दबदबे हिलामा घाँटघाँटी डुबेर आत्मलघुताभासमा थँच्चिनु परेको छ । शतकौंदेखि एउटै विधिमा गतिशील हाम्रो सामाजिक संरचना र अर्थतन्त्रले गर्दा चेतना र स्वाभिमानका अभावले समाजभित्रै विकृति मौलाउँदै आपसी द्वेष, कलह, द्वन्द्व र हिंसा सहँदै र सत्को हार असत्को जीत भएको टुलुटुलु हेरिरहनु परेको छ । तत्काल सचेत र विवेकपूर्ण समाधानको द्वन्द्ववादी बाटो नखोजिएमा समाज र राष्ट्र नै विखण्डनका भासमा जाकिनसक्ने निश्चितप्रायः छ । विस्तारवादी दलालहरू त्यसमा मलजल गर्ने प्रयास बेलाबेला गरिरहन्छन् तापनि शतकौंदेखि अविच्छिन्न रहेको नेपालको विभाजन कुनै पनि नेपालीले चाहँदैन र चाहनेलाई सहन पनि सक्दैन । एकातिर राजतन्त्रले वर्षाैंदेखि जनतालाई प्रजा (दास) बनाइराख्यो भने अर्कातिर जनताका नेता भनिनेहरूले पनि सत्तालिप्सामा युवाहरूलाई ‘आफ्नो राष्ट्र, सभ्यता र संस्कृतिलाई माया गर्दै स्वाभिमानी र स्वावलम्बी भएर देश हाँक्न काँध थाप्नुपर्छ, जनएकता राष्ट्रको सबैभन्दा ठूला शक्ति हो, सङ्गच्छध्वं संवदध्वं … सिकाउनाको सट्टा आफ्ना कार्यकर्ता मात्र बनाइराख्ने र आपूm सधै दोस्रो राजा बनिराख्ने जालमा मात्र फँसाइराखे । ‘फुटाऊ र राज गर’ को नीति दासयुगको अवशेष हो । त्यसले जातीय अस्तित्व र राष्ट्रिय अखण्डतालाई नष्ट पार्छ भन्ने कुरा राजा त के प्रजातन्त्रका मसिहा भनिनेहरूले समेत बुझ््न सकेनन् । अतः उपेक्षित जातजाति, वर्ग, लिङ्ग र क्षेत्रका जनाताले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय नारा बोकेर जनआन्दोलन–२ मा आआफ्नो सहभागिता जनाएका थिए । आआफ्नो भूगोल, क्षेत्रीयता र सिङ्गो राष्ट्रकै रक्षा गर्ने जनता ने हुन् । अहिले नपाली समाज विखण्डनको सङ्घारमा उभिएको छ । कुनै विवेकशील महारथि खडा भएन भने नचिताएको विनाश हुने निश्चित छ । राजधानी र सदरमुकामका ब्यारेकमा बस्ने नेपाली सेनाले मात्र राष्ट्रको भूभागको रक्षा गर्नसक्दैन । राष्ट्रवाद र जनवादमा भेद गरिएकाले यस्तो विनाशको बाटो खुलेको हो । नेताको बोली विदेशका लोलीसँग मिलने गरेको इतिहास लामो भइसकेको छ । देशका सच्चा पहरेदार नेपाली जनता नै हुन् । जनतालाई सार्वभौम शक्तिसम्पन्न बनाउँदा आफ्नो कद घट्ने डरले नेताहरूको टाउको खाएको छ । सच्चा नेता हुन जनताको सम्मान गर्न सिक्नै पर्छ । विदेशीको इसारामा भन्दा जनताका चाहनामा नाच्न जान्नुपर्छ । इमान्दार बनेर मुलुकको नयाँ इतिहास निर्माण गर्ने अवसर वर्तमान नेताहरूलाई समयले दिएको छ । विघ्नले निरन्तर प्रहार गरेपनि उत्तम व्यक्तिले लक्ष्यबाट विरत हुनुहुँदैन भन्ने नीतिवचन अवलम्वन गर्दै नयाँ नेपालको जनअवधारणालाई व्यवहारमा उतार्न समर्पित भएर लाग्नुको विकल्प नेताहरूसँग छैन । नत्र प्रत्येक दशकमा एउटा सङ्घर्षको उठान गर्दै आएका नेपाली जनताले अर्काे विकल्पलाई पच्छ्याउने दिन नजिकिंदैछन् भन्ने बुझे हुन्छ । हो राष्ट्रलाई टुक्य्राउने प्रयास जघन्य अपराध हो । तराईा वास्तविक जनताको माँग त्यो होइन । देशका हरेक भूभागमा आआफ्नै विशेषताका सम्भावनाहरू छन् । तिनलाई स्थानीय जनताकै हितमा उपयोग्य हुने गरी अर्थनीति बनाएर अंशबाट समग्रताको निर्माण गर्ने चिन्तन लिएर अवको राजनीति सञ्चालन भएमा देशले केही दशकभित्रै नयाँ काँचुला फेर्ने निश्चित छ । युवाहरू विदेशीको सेवामा रमाउँदैनन् । थोरै खाएरै भएपनि आफ्नै देशमा रमाउन चाहन्छन् तर त्यस अवसरबाट उनीहरू वञ्चित छन् । उनका मनमा विद्रोहका ज्वाला बल्नाको कारण त्यही हो । केही क्षीण मानसिकताका मासिनहरू तेरा बाजेले मेरा बाजेको ऋण खाएर मरे तैंले मेरो घोंडा बनेर त्यो ऋण तिर्नपर्छ भन्ने धारणा पनि राख्छन् तर त्यो त तेरा बाजेबराजु जहाँबाट आएका थिए तँ त्यहीं जा अथवा पोहोर मरिन् सासू अहिले आए आँसु भने जस्तै हो । चाहे गोरो होस् वा कालो, चाहे चुच्चे नाक वा थेप्चे नाक भएको, बाटुलो वा लाम्चो अनुहार भएको किन नहोस् नेपालमा जन्मेको नेपाललाई असाद्धे माया गर्ने नेपाली हो । किनेका नागरिकताले मुटुमा माया उम्रिंदैन त्यो त सहजात र स्वाभाविक हुन्छ ।
चेपुवामा परेको देश भन्दैमा लड्नसक्दैन, सेना राख्नु पर्दैन भन्नुभन्दा आफ्ना थैलाको मुख राम्रोसँग बाँधनु पर्छ । क्षेत्रीय साम्राज्यवादबाट देशको रक्षा गर्न प्रत्येक नागरिकलाई आत्मरक्षार्थ र देशको सीमा रक्षार्थ सैनिक तालिम अनिवार्य गरिनु उचित हुन्छ । मालिदिप्समा भएको घटना यहाँ पनि नघट्ला भन्न सकिंदैन । भोका पेटमा भजन कसैले गर्दैन । कि स्वाभिमान कि बलिदान दुईमा एक रोज्छ मानिसले । समतामूलक समृृद्ध समाजको निर्माण आजको आवश्यकता हो । स्थानीय जनप्रतिनिधि त्यसतर्फ लागेकोसङ्केतसमम पाइएको छैन । पाँच ज (जल, जवान, जमीन, जडीबूटी र जङ्गल) हाम्रा अर्थतन्त्रको मूलाधार हो । देशको विकास पाँच जलाई शारीरिक र मानसिक श्रमको केन्द्रबिन्दु बनाएर मात्र सम्भव छ । अब छिट्टै सङ्क्रमणकालको अन्त्य गर्दै विदेशी आपराधिक तत्त्वलाई औंला छिराउने अवसरबाट वञ्चित गरेर एकढिक्का भएर अघि बढेमा असम्भव भन्ने कुनै चीज छैन तर त्यो क्षमता अहिलेका हाम्रा नेतामा छ ? जनयुद्धका असफलताले विखण्डनवादी विदेशी दलालको आत्मबल बढेको हुनसक्छ । त्यसलाई निरस्त गर्न जनतालाई वैचारिक र भावनात्मक रूपले एक बनाउँदै इमान्दारीपूर्वक लाग्नु आजको आवश्यकता हो । अस्तु ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु