क्रान्तिकारी माओवादी संघर्षको दिशातिर

२०७५ मंसिर १९ गते, बुधबार

काठमाडौं, १९ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा हस्ताक्षरित विज्ञप्तिमा आमहडताल जस्ता उच्च संघर्षका निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न भएको जनाइएको छ ।बैठक मंसिर १२ गतेखि १७ गते लगातार ६ दिनसम्म चलेको जनाइएको छ । वैठकको सुरुआतमा महान् शहीदहरुप्रति एक मिनेट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेपछि पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ द्वारा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको बुँदागत र प्रवृत्तिगत किटानी, पार्टी कामको समीक्षा र आगामी कामको योजना प्रस्तुत गरिएको थियो । यिनै विषहरुमाथि उपस्थित संपूर्ण केन्द्रीय समितिका सदस्यहरुले आआफ्नो धारणा राखी यसको समद्धिका लागि थप महत्वपूर्ण सुझावहरु दिएका थिए ।
यिनै एजेण्डामाथि भएका गंभीर छलफलका आधारमा नेपालमा अहिलेको बदलिंदो परिस्थितिमा सम्पन्न गरिने नयाँ जनवादी क्रान्तिको तयारीका लागि केही सशक्त आत्मगत आधारहरु निर्माण गर्न महत्वपूर्ण निर्णयहरु लिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।
यसपालाको केन्द्रीय समितिको वैठककको सबैभन्दा महत्वपूर्ण निर्णय भनेको संघर्षका कार्र्यक्रमहरुको अहिलेको विशिष्ट राजनीतिक परिस्थितिमा गरिने उठानलाई लिइएको छ । यसका लागि सुरुमा प्रचारप्रसारका कामहरुलाई व्यापकता दिइने बताइएको छ । युवा मोर्चाका कामहरुलाई जुझारु रुपमा अघि बढाइने बताइएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धि कामहरुलाई संघर्षका रुपमा अघि बढाइने कार्यक्रमहरु निर्माण गरिएको बताइएको छ । यस्ता खाले संघर्षका कार्यक्रमहरु घोषित रुपमा सार्वजनिक गरिएको छ ।
संघर्षका कार्यक्रमहरुलाई सामान्य प्रचारप्रसारदेखि लिएर आम हडतालजस्ता विसाल जनसहभागिताका स्वरुपसम्ममा विकास गरिने पनि बताइएको छ । संघर्षका कार्यक्रमहरुलाई मध्यनजर गरेर पार्टी जिम्मेवार नेताहरुको विशेष गरी स्थायी समिति र राजनीतिक ब्युरोको कार्यक्षेत्रमा केही आवश्यक हेराफेरी गरिएको पनि बताइएको छ । संघर्षका स्वरुपहरु बढी जनसहभागितामूलक रहने र उठाइएका एजेण्डाहरुमा जनताको पनि देशव्यापी साथ रहने आशा गरिएको छ ।
आम जनताको सहभागितालाई जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षमा विकास गरिने भनी यो वैठकले निकै रणनीतिक महत्वको निर्णय लिएको छ । मोर्चा निर्माण तथा सहकार्यका कुराहरुका साथै संघर्षमा विचार र इस्यु अनुसार कार्यगत एकतामा पनि जोड दिइएको देखिन्छ ।
हालसम्म संगठन निर्माण र जनपरिचालन अभियानमा मात्र लागेको क्रान्तिकारी माओवादी बुटवल बैठकबाट संघर्षको दिशातिर सोझिएको देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु