क्याम्ब्रियन गस्ती अभ्यास २०१७ मा नेपाली सेनालाई स्वर्णपदक

२०७४ कार्तिक ६ गते, सोमबार

काठमाडौं, ६ कात्तिक । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आइतबार (आज)सम्म सन्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सन्चालन हुने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेसागत दक्षतालाई मूल्यांकन गरिने नेपाली सेनाले जनाएको छ । अत्यन्त कठिन भौगोलिक इलाकामा सन्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौन्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।
सोक्रममा सहभागी टोलीकोे लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित् स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताको परीक्षण हुने सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त अभ्यासमा नेपालसहित २८ देशका १३९ सैन्य टोलीको सहभागिता रहेको थियो । नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो । प्रतिस्पर्धात्मक उक्त अभ्यासमा भाग लिने अन्य राष्ट्रका करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न नसकेको नेपाली सेनाले जनाएको छ ।
व्यावसायिक, समर्पित, साहसी र संयमित फौजलेमात्र पूरा गर्नसक्ने अभ्यासमा अब्बल प्रमाणित गर्दै स्वर्णपदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । – रासस

प्रतिक्रियाहरु