‘कोलम्बो प्रोसेस’ को बैठक सुरु

२०७५ कार्तिक २९ गते, बिहीबार

काठमाडौँ, २९ कात्तिक । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध राष्ट्रहरुको छैठौं बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा एसियाका १२ देशका प्रतिनिधि सहभागी छन् । दुई दिनसम्म हुने कोलम्बो प्रोसेसको बैठकमा सदस्य मुलुकबीच अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श भइरहेको छ । बैठकमा सदस्य मुलुकका मन्त्री र उच्च अधिकारी सहभागी छन् ।
बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध, विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठकमा जिसिएम कार्यान्वयनका क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्न सक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल हुनेछ । कोलम्बो प्रोसेस स्थापना भएको डेढ दशक पुगेको छ ।
वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्चका रूपमा सन् २००३ मा श्रीलंकामा कोलम्बो प्रोसेसको स्थापना भएको थियो । अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले मञ्च सञ्चालित छ । कोलम्बो प्रोसेसमा १२ राष्ट्र सदस्य र आठ राष्ट्र पर्यवेक्षकका रूपमा आबद्ध छन् । अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु