कोरोना संक्रमितमध्ये ४ प्रतिशतको मात्रै मृत्यु

२०७६ चैत्र ८ गते, शनिबार

काठमाडाैँ, ८ चैत । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना लागेकाहरुमध्ये ४.१३ प्रतिशतको मात्रै मृत्यु भएको छ । त्यसमा पनि उमेरगत समूह अनुसार हेर्ने हाे भने अधिकांश मृत्यु र संक्रमणका घटना ४० वर्ष माथिका व्यक्तिमा देखिएकाे छ ।
वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म विश्वव्यापी रूपमा काेराेना भाइरसकाे गम्भीरता ८० वर्षमाथिका व्यक्तिमा देखिएकाे छ । ८० वर्ष नाघेका व्यक्तिकाे काेराेना संक्रमणबाट मृत्युदर जम्मा पुष्टि भएका संक्रमितकाे २१ प्रतिशत रहेकाे छ । ४० वर्षभन्दा तलकाकाे मृत्यु हुने सम्भावना ज्यादै कम छ भने युवा तथा बालबालिकामा भने याे सम्भावना क्षीण देखिएकाे छ । उमेर जति कम छ उति नै यसबाट मृत्यु हुने सम्भावना पनि कम रहेकाे अध्ययनहरूबाट पुष्टि भएकाे छ ।
अहिलेसम्म विश्वभर कुल २ लाख ७५ हजार ९३२ व्यक्तिमा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ११ हजार ३९८ जनाको मृत्यु भएको छ । ९१ हजार ९१२ अर्थात् ३३। ३० प्रतिशत पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।
काेराेनाकाे सबैभन्दा बढी संक्रमण र निकाे भएकाे देश चीन हाे । चीनमा ८८। ५५ प्रतिशत उपचारपछि घर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ८ जनामा काेराेना देखिएकाे छ । त्यसमध्ये ७१ हजार ७४० जना अर्थात् ८८। ५५ प्रतिशत पूर्ण रूपमा निकाे भएका छन् । अहिले चीनमा ६ हजार १३ जनामा मात्रै काेराेनाकाे संक्रमण रहेकाे छ । तीमध्ये १ हजार ९२७ जना गम्भीर अवस्थामा छन् ।
काेराेना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुने देश इटाली हाे । इटालीमा अहिलेसम्म ४ हजार ३२ जना (८।५७ प्रतिशत) काे मृत्यु भएकाे छ । इटालीमा ५ हजार १२९ जना (१०।९० प्रतिशत) पूर्ण रूपमा निकाे भएका छन् । अहिले इटालीमा संक्रमिण हुनेकाे संख्या ४७ हजार २१ पुगेकाे छ ।
त्यस्तै स्पेनमा काेराेना लागेका मध्ये ५। ०६ प्रतिशकाे मृत्यु भएकाे छ भने ७।३६ प्रतिशत पूर्ण रूपमा निकाे भएर घर फर्किएका छन् । अहिलेसम्म स्पेनमा संक्रमित हुनेकाे संख्या २१ हजार ५७१ पुगेकाे छ ।
काेराेना लागेकाेमध्ये जर्मनीमा ०।३४ प्रतिशत, ७।२९ प्रतिशत, अमेरिकामा १।३३ प्रतिशत, फ्रान्समा ३। ५६ प्रतिशत, १।१५ प्रतिशत र बेलायतमा ४।४४ प्रतिशकाे मात्रै मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।
नेपालमा अहिलेसम्म काेराेना भित्रिएकाे नभए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको देशमा राखेको छ । कोरोनाबाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सतर्कता अपनाउनु नै उपयुक्त हुने देखिएकाे छ । – एजेन्सी

प्रतिक्रियाहरु