कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो

२०७६ चैत्र १७ गते, सोमबार

काठमाडौँ, १७ चैत । कोरोना भाइरसका संक्रमित ७ लाख नाघेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ ।।एकैदिन मात्र विश्वभर ५८ हजार २८५ जना नयाँ संक्रमित फेला परेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै ३४ हजार पुगेको छ । यो समाचार तयार गर्दासम्म विश्वभर ३३ हजार ९५७ जनाको ज्यान गइसकेको छ । जसमा पछिल्लो एकै दिन मात्र ३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । १ लाख ४५ हजार ९७० जना भने निकाे भइसकेका छन् ।

अमेरिकामा मात्रै संक्रमितको संख्या डेढ लाख पुगेको छ । वल्र्डोमिटर्सका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ४२ हजार ४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८ हजार ४२६ केस पछिल्लो एक दिनमा मात्र देखा परेका हुन् ।

अमेरिकामा पछिल्लाे एक दिनमा २६४ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ । यससँगै त्यहाँ कुल मृतक संख्या २ हजार ४८४ पुगेकाे छ छ भने ४ हजार ५५९ जना निको समेत भएका छन् । बाँकी १ लाख ३४ हजार भन्दा बढीमा याे भाइरस सक्रिय रहेकाे छ ।

उता इटलीमा पनि संक्रमितको संख्या एक लाख हाराहारी पुगिसकेको छ । अहिलेसम्म त्यहाँ ९७ हजार ६८९ जनामा संक्रमण फैलिएको छ, जसमध्ये ५ हजार २१७ जना नयांँ संक्रमित देखा परेका छन् । कोरोनाका कारण इटलीमा विश्वकै बढी १० हजार ७८९ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गमस्थल चीनमा भने नयाँ मृत्यु देखिएको छैन । त्यहाँ संक्रमितको संख्या पनि खासै बढिरहेको छै । बरु कुल संक्रमित ८१ हजार ४४९ मध्ये ७५ हजार ४४८ निको भइसकेका छन् । हालसम्म त्यहाँ ३ हजार ३०० को मात्रै ज्यान गएको छ ।

कोरोना भाइरसको प्रकोप अहिले विश्वका सबैजसो देशहरुमा फैलिसकेको छ । नेपालमा पनि यसका ५ जना संक्रमित देखा परेकोमा १ जना निको भइसकेका छन् ।

प्रतिक्रियाहरु