कोरोना भाइरसबारे जनचेतना फैलाउने डाक्टरको मृत्यु !

२०७६ माघ २४ गते, शुक्रबार

काठमाडौँ, २४ माघ । चीनमा कोरोना भाइरसबारेमा जनचेतना फैलाउने डाक्टरकै मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने डाक्टर ली वेनलियाङको बिहीबार राति मृत्यृ भएको हो । कोरोना भाइरसकै कारण उनकाे मृत्यु भएकाे चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएकाे छ । ग्लोबल टाइम्सका अनुसार वुहान सेन्ट्रल अस्पतालले उनकाे मृत्यु काेराेना भाइरसकै कारण भएकाे शुक्रबार पुष्टि गरेकाे छ ।
यसअघि माघ ११ गते पनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । कोरोना भाइरसको बारेमा पहिलोपटक जानकारी दिँदा उनलाई प्रहरीले अफवाह फैलाएको आरोप समेत लगाएको थियो । कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए । उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए । ‘कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि लड्दै गर्दा हाम्रो अस्पतालका आँखा रोग विशेषज्ञ ली वेनलियाङलाई कोरोना संक्रमण भएको थियो । उनलाई बचाउनका लागि हामीले निकै प्रयास गर्यौं । तर शुक्रबार बिहान २ः५८ मा उनको मृत्यु भयो,’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ । लीले भाइरसको प्रकोपका बारेमा चेतावनी दिएका थिए, तर त्यही भाइरसले उनकै ज्यान लियो। डिसेम्बरमा उनले मेडिकल कलेजको एलुम्नाई ग्रुपमा यसको बारेमा जानकारी गराएका थिए। वीच्याटमा उनले सिफुडका कारण सात जना बिरामी भएको र यसको लक्षण सार्सको जस्तो भएको उनले बताएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ । संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ। -एजेन्सी

प्रतिक्रियाहरु