कोरोनाविरुद्धको खोप सफलता नजिक !

२०७७ जेष्ठ २ गते, शुक्रबार

काठमाडौं, २ जेठ । अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको बताएका छन् । ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती निष्कर्ष आशाजनक भएको शोधकर्ताहरुले समाचार एजेन्सी रोयटर्सलाई बताएका हुन् ।
शोधकर्ताहरुले ६ वटा बाँदरको एक समूहमा यो खोपको प्रयोग गरेको र अहिले त्यो खोपले काम गरिरहेको जनाइएको हो । अब यो खोप मानिसमा परीक्षण गरिने छ । वैज्ञानिकले खोपको जाँच पनि गर्नेछन् ।
अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका शोधकर्ताहरुसँग मिलेर कोरोना भाइरसको खोपको बारेमा काम भइरहेको बेलायती औषधि निर्माता एझेडएनएलले गत महिना बताएको थियो । ६ वटा बाँदरलाई भारी डोज दिनुअघि यो खोप लगाइएको थियो । यो खोपबाट केही बाँदरको शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लागेको जनाइएको छ ।
कोरोना भाइरसको सम्पर्कमा आएपछि यो खोपले ती बाँदरको फोक्सो क्षति हुनबाट बचाएको र शरीरमा भाइरसको कपी बन्न र बढ्न रोकिएको शोधकर्ताले बताएका छन् । नाकमा भने अझै भाइरस सक्रिय रहेको बताइएको छ । लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर डाक्टर स्टिफिन इभान्सले बाँदरमा गरिएको अनुसन्धानको नतिजा राम्रो खबर भएको भन्दै अक्सफोर्ड भ्याक्सिनको लागि निकै ठूलो उपलब्धि भएको बताए ।
गत मे १३ सम्म शोधको लागि स्वेच्छाले आएका झण्डै एक हजार मानिसमा परीक्षणको रुपमा यो खोप लगाइएको शोधकर्ताहरुले बताएका छन् । अबको एक महिनासम्ममा केही स्पष्ट निष्कर्ष आउने आशा उनीहरुको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु