कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो

२०७६ चैत्र १० गते, सोमबार

काठमाडौं , १० चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६४१ पुगेको छ । अहिलेसम्म विश्वभर ३ लाख ३७ हजार ३ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ९८ हजार ६२७ उपचारपछि घर फर्किएका छन् । अहिले २ लाख २४ हजार ३२ जनामा कोरोना भाइरस सक्रिय देखिएकाे छ । तीमध्ये १० हजार ५५३ जना भने गम्भीर अवस्थामा छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ । चीनमा भने ३ हजार २७० जनाकाे काेराेनाबाट ज्यान गएकाे छ । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६५१ जनाको मृत्यु भएको छ भने ५ हजार ५६० जना नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा ५९ हजार १३८ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ७ हजार ७०३ जना पूर्ण रुपमा निको भएका छन् ।
अहिले इटालीमा ४६ हजार ६३८ जनामा कोरोनाको सक्रिय संक्रमण रहेको छ भने ७ हजार भन्दा बढी निकाे भइसकेका छन् । संक्रमितमध्ये ३ हजारको अवस्था गम्भीर रहेको छ । इटालीमा गत बुधबार ४७५, बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको ज्यान गएको थियो ।
चीनमा अहिलेसम्म कुल ८१ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ५ हजार १२० जनामा मात्रै कोरोनाको संक्रमण छ । ७२ हजार ४४० भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
पछिल्लाे समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ । कोरोना भाइरसका कारणा बढी मृत्यु र संक्रमण भएको देशको तेस्रोमा स्पेन र चाैथाे नम्बरमा इरान पर्छ । आइतबार बिहानसम्म तेस्रो नम्बरमा इरान र चौथो नम्बरमा स्पेन थियाे । तर संक्रमणका हिसाबले इटलीपछि अमेरिका रहेकाे छ । अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा संक्रमण देखा परेकाे र ४१९ जनाकाे मृत्यु भएकाे छ ।
स्पेनमा साेमबार बिहानसम्म मृत्यु हुनेको संख्या एक हजार ७ सय ७२ पुगेको छ । आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ९१ को मृत्यु भएको छ । स्पेनमा आइतबार ३ हजार २ सय ७२ संक्रमित थपिएका छन् । याे सँगै स्पेनमा संक्रमित हुनेकाे जम्मा संख्या २८ हजार ७६८ पुगेकाे छ । इरानमा अहिलेसम्म १ हजार ६८५ मृत्यु भएको छ भने २१ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । इतबार मात्रै इरानमा थप १२९ जनाकाे मृत्यु भएकाे छ भने १ हजार २८ जना थप संक्रमित भेटिएका छन् । त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ ।

प्रतिक्रियाहरु