उत्तर कोरियाली प्रतिनिधिमन्डल दक्षिण कोरियामा

२०७४ माघ ७ गते, आईतवार

काठमाडौं , ७ माघ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमन्डल आइतबार दक्षिण कोरिया पुगेको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमन्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्षपछि यो पहिलोपटक भएको अधिकारीहरुले सोलबाट जानकारी दिएका छन् ।
उक्त प्रतिनिधिमन्डलले सो खेलकुदको तयारीका साथै उत्तर कोरियाको तर्फबाट प्रस्तुत् गरिने सांस्कृतिक कार्यक्रमको तयारीकोबारेमा पनि निरीक्षण गर्ने र आवश्यक निर्देशन दिने बताइएको छ । उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह (मोराङ्बोङ ब्यान्ड)का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय समूह उक्त प्रतिनिधिमन्डलमा रहेको छ । आइतबार बिहान सो समूह सोल पुग्दा प्रहरीको निकै ठूलो सुरक्षा घेराले सुरक्षा दिइरहेको थियो । पश्चिमा देशहरुकोजस्तै सांगीतिक प्रस्तुति दिने उक्त ब्यान्ड उत्तर कोरियामा निकै प्रचलित छ उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी सो ब्यान्डका अधिकारी हुन् । उक्त ब्यान्ड सरकारको मातहतमा स्थापना र सन्चालन भइरहेको छ ।
फेब्रुअरीमा हुनलागेको सो खेलकुदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति पनि उनीहरुले नै दिने तय भएको छ । सो प्रस्तुतिको तयारीको निरीक्षण गर्न उनीहरुले दुई दिनसम्म दक्षिण कोरियाको भ्रमण गर्न लागेका हुन् । संयोजक संगीतकर्मी महिला उलको नेतृत्वमा रहेको सो समूहले उक्त खेलकुदको समयमा पश्चिमाकोजस्तै प्रस्तुति दिने बताइएको छ । उत्तर कोरियामा उनीहरुले यसका लागि लामो समयदेखि तयारी गरिरहेका पनि जनाइएको छ ।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकुद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।उक्त खेलकुदमा २२ जना एथलेट्स र अरु खेलकुद अधिकारीहरु उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीहरुको नामावली र उनीहरुले खेल्ने खेलकोबारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ । यस ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झन्डामा सँगसँगै मार्च गर्न पनि सहमति जनाएका समाचार यसअघि नै आएको थियो ।
त्यसैले पनि उक्त खेलकुदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमकारुपमा लिनुपर्नेमा विश्वका नेताले नै आग्रह गरेका छन् । – रासस/एएफपी

प्रतिक्रियाहरु