कोइली मंसिर ४ गतेदेखि उड्ने

२०७१ कार्तिक २७ गते, बिहीबार


काठमाडौं। नेपाल वायुसेवा निगमले चीनबाट ल्याइएको वाई १२ ई कोइली नामको विमानले आगामी मंसिर ४ गतेदेखि व्यावसायिक उडान गर्ने कार्यतालिका बनाएको छ ।
गएको कात्तिक १७ गते काठमाडौं अवतरण गरेको विमानलाई व्यावसायिक उडानमा लगाउन विभिन्न प्राविधिक एवं प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने र प्रक्रियाहरु मंसिर २ गतेसम्म पुरा गर्ने कार्यक्रम रहेकोले व्यावसायिक उडान ४ गतेदेखि गर्न लागिएको निगमले जनाएको छ ।विमान उडान गर्ने पाइलटहरुको टाइपरेटिङ्ग, क्याविन क्रूको टाइपरेटिङ्ग प्रक्रिया कात्तिक २७ गतेसम्म पूरा हुनेछ भने संकटकालिन उद्दार प्रदर्शनलगायत अन्य परीक्षण उडान कात्तिक ३० गते सम्ममा सम्पन्न गरिनेछ ।
मंसिर १ गते नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन गर्ने र अनुमति प्राप्त हुनासाथ मंसिर ४ गतेबाट व्यावसायिक उडान थालिने लक्ष्य राखिएको निगमले जनाएको छ छ । व्यवसायिक उडान गर्नु भन्दा पहिलेको परीक्षण उडान काठमाडौं–तुम्लिङ्गटार–जनकपुर–सिमरा–भरतपुर–पोखरामा गरिनेछ ।

प्रतिक्रियाहरु