कैलालीमा कर्फ्यु यथावत , जनजीवन कष्टकर

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौं, १२ भदौ । कैलालीका दुई नगरपालिका र नौ गाविसमा लगाइएको कर्फ्यु आज छैठौं दिन पनि जारी छ । टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको कफ्र्यू स्थानीय प्रशासनले निरन्तर गरेको हो । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । धनगढी नगरपालिकामा भने ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि फेरी कर्फ्यु जारी गरिएको छ ।
शुक्रबार पनि ११ बजे लगाइएको कर्फ्यु साँझ ६ बजेपछि फुकुवा गरिएको थियो । लगातारको कफ्र्यूले कैलालीको जनजीवन निकै कष्टकर बनेको छ । कर्फ्युले टीकापुर र सदरमुकाम धनगढी सुनसान छ ।
भारतबाट आउने यात्रु दिनभर सीमावर्ती गौरीफन्टा बजारमा अलपत्र पर्ने गरेका छन् । उता, टीकापुरमा गत सोमबारको हिंसा पछि लगातारको कफ्र्युका कारण हिडडुल बन्द हुनुका साथै दैनिक उपभोग्य बस्तुको अभाव भएपछि टीकापुरबासीले उकुसमुकुस र पीडा खेपिरहेका छन् ।
त्रासका कारण युवाहरुले गाउं छाडेपछि थारु समुदायका बस्तीमा बुढापाका मात्र बांकी रहेको बताइएको छ ।
यसक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईंले आन्दोलन प्रभावित जिल्लाका सम्पूर्ण सभासदलाई जिल्ला पुगेर सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन ।
यसैबीच, चितवनदेखि कञ्चनपुरसम्म थरुहट, थारुवान प्रदेशको माग गर्दै आन्दोलनरत थरुहट संघर्ष समिति र मधेसी मुक्ती मोर्चाले आज शनिबार एक दिनका लागि बर्दियामा यातायात र बजार खुला गर्ने निर्णय गरेको छ । जनैपूर्णिमाको अवसर पारी शनिबार एक दिनका लागि यातायात र बजार खुला गर्ने निर्णय गरीएको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान चौधरीले जानकारी दिए । १८ दिनदेखि थरुहटले गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको थियो ।
बन्द खुलेसँगै बिहानैदेखि गाडी चल्न थालेका छन् । बजार पनि खुलेका छन् । बजारमा मानिसको चहलपहल बढेको छ । आन्दोलनका कार्यक्रम यथावत रहेको र आइतबारदेखि १६ गतेसम्मको घोषित कार्यक्रम अनुसार यातायात र बजार बन्द हुने चौधरीले बताए ।
जिल्ला प्रशासन कर्यालयमा शुक्रबार बसेको सर्वपक्षिय बैठकमा बन्द कार्यक्रममा लाठी, गुलेली लगायतका घरेलु हतियार प्रदर्शन नगर्ने, शान्ति सद्भाव नखल्बलिने खालको कार्यक्रम गर्ने निर्णय भएको थियो । बन्द खेलेपनि जिल्ला प्रशासन कार्यालयले सदरमुकाम गुलरीया र राजापुरमा लगाएको निषेधाज्ञा भने अर्को सूचना जारी नहुँदा सम्मका लागि जारी छ । सभा, जुलुस लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु