केही स्थानमा भारी वर्षा हुन सक्ने

२०७५ असार ३० गते, शनिबार

काठमाडौं, ३० असार । मौसम पूर्वानुमान महाशाखाले अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने सक्ने जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ ।
त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि (आइतबार) दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको जनाइएको छ ।
असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा ६, डडेल्धुरामा ४ र दिपायलमा २ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । महाशाखाले मनसुन सक्रिय भएसँगै करीब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ । मनसुनी वर्षा अझै केही दिन जारी रहने छ ।

प्रतिक्रियाहरु