केराको थाम पनि आम्दानीको स्रोत

२०७२ मंसिर ५ गते, शनिबार

काठमाडौँ । महोत्तरीका सर्वसाधारणले केराको थाम बेचेरै हजारौँ आम्दानी गरेका छन् । दीपावली पर्वको अवसरमा घरघरमा देवी लक्ष्मीको स्वागतका लागि द्वार बनाउने प्रयोजनमा केराको थाम नै बेचेर जिल्लाका बजारबाट सर्वसाधारणले हजारौँ आम्दानी गरेका हुन् । खासगरी बजार क्षेत्रका व्यापारिक प्रतिष्ठानले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा भएकाले दीपावली पर्वमा थामको कारोबार निकै हुने गरेको छ । जिल्लाको उत्तरवत्र्ती नगर बर्दिवास, पश्चिमवर्ती नगर गौशाला, व्यापारिक केन्द्रहरु रामगोपालपुर, सम्सी, मटिहानी, सीतापुर, लोहारपट्टि, पिपरा र जिल्ला सदरमुकाम जलेश्वरमा बिहानैदेखि केराका थाम बेच्ने र किन्नेको चहलपहल देखिएको थियो । पर्वका लागि रातिदेखि नै बयलगाडाबाट केराका थाम जलेश्वर बजार पु¥याएका डाम्हीमडैको रतबारा बस्तीका प्रकाश पासवानले आपूmले रु. १२ हजारको थाम बेचिसकेको बताए ।
त्यसैगरी, पर्वका अवसरमा गौशाला, सीतापुर, मटिहानी, सम्सी, पिपरा, लोहारपट्टि, रामगोपालपुरसहितका बजार र जिल्ला सदरमुकाम जलेश्वरमा बुधबार बिहानै हजारौँ थाम बिक्री भएका महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । लक्ष्मीपूजाका दिन करिब रु. १० लाख मूल्य बराबरको केराको थाम बिक्री भएका अनुमान गरिएको सङ्घका अध्यक्ष मोहनकुमार गुप्ताले बताए । दीपावली पर्वमा द्वार बनाउन कमसेकम दुईवटा थाम चाहिने र लक्ष्मीपूजाका दिन थाम प्रतिजोर ५०० सम्म बिक्री भएको किसानको भनाइ छ । जलेश्वरमा मात्रै तीन हजार केराका थाम बिक्री भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव अजित चौधरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु