केपी कमरेडको कबितालाई कोतर्दा – जागृत रायमाझी

२०७५ असार ३२ गते, सोमबार

चन्द्रागिरी चढेर
भानुभक्तको भजन भन्नेहरुको भीडमा
कुनैबेलाका कमरेड केपीओलीले
कबिता कोरेछन
”यो दुनियाँ परिबर्तनशील छ,
बाँचुञ्जेल जीवन छ, मर्नु त छँदैछ”

डियर पियम !
परिबर्तनशील दुँनियालाई
परिबर्तन गर्न खोज्ने मान्छे
कुन क्लासको ठेकेदार हो हँ !?
प्रधानमन्त्री त पक्कै पनी
‘ए’ क्लासकै ठेकेदार हो
भन्न खोज्या त होला नी होईन !?
अहँ मिलेन पियम !
अब फेरि चन्द्रागिरी चढ्दा
कबिता सच्याउनुहोला
यो दुँनिया परिबर्तनशील होइन
यो दुँनिया परिबर्तनीय छ
आफै परिबर्तन हुँदैन यो दुँनिया
परिबर्तन गर्‍यो भने मात्रै परिबर्तन हुन्छ !
र,
यहाँ बाचुञ्जेल मात्रै जीवन छैन
मरेपछी पनि बाँचिरहने
जीवन पनि छ
अनि
बाँचुञ्जेल पनि मरिरहेको
जीवन पनि छ ।

सपनामा भएपनी
लहलह धान झुलेको
भाबी सन्तती मुस्कुराएको
तँपाइको सपनालाई
सम्मान नै छ मेरो
तर, जग्गाका ठेकेदारहरुलाई
काठमाडौ र देशको नक्सा कोर्न लगाएर
झुल्ला र खेतमा
तँपाइको कबितामा जस्तो लहलह धान ?
अहँ झुल्दैन ।
काठमाडौंमा मार्सी भात खाएर भन्दा
जुम्लामा मार्सी धान फलाएर मात्रै झुल्ला नी !
साहुहरुलाई शिक्षा सुम्पिएर
मुस्कुराउन पाउलान र भाबी सन्तती !?
अहँ मुस्कुराउँदैनन ।
राज्यले शिक्षाको रंगशालामा
बिद्यार्थीहरुलाई बेजोडले दौडन दिँदा मात्रै
मुस्कुराउलान नी भाबी सन्तती !

छिमेकीहरुबाट
मानोसामल र लत्ताकपडा मगाएर
ईन्जिन र इन्धन भित्र्याएर
कम्प्युटर र प्रबिधी झिकाएर
उब्जाउने सारा तन्नेरीहरुलाई
उत्पादन गर्ने सारा नौजवानहरुलाई
बिदेश निर्यात गरेर
रहला र यो देश !?
अहँ रहन्न ।
तन्नेरीहरुका पाखुराहरुलाई
पाखा र पखेरुहरुसंग
खेत र खलियानहरुसंग
मेशिन र औजारहरुसंग
माउस र रिमोर्टहरुसंग
मितेरी लगाउन लगाए पो रहला !

सिण्डिकेड सिध्याएर
कार्टेल निम्त्याएर
कार्टेल सखाप पारेर
कर्पोरेट भित्र्याएर
आउला र समृद्धि र समाजबाद !?
अहँ आउँदैन ।
प्रचुर उत्पादन
र न्यायिक बितरणको बाटो
बेफिक्री हिँड्ने हिम्मत गर्दा मात्रै
आउला नी समाजबाद ।

चिसो चुलोलाई
ग्यास पाइपको गफले
हिलाम्मे सडकलाई
रेलको सपनाले
गरिखाने हातलाई
बसिख्वाउने ध्वाँसले
बिस्थापन गर्न सक्दैन नी !
जनताको जिन्दगीको जोहो
आश्वासनले होइन अवसरले हुन्छ !
केशरमहलमा पासपोर्ट लिनेहरुको लाईनले
झिटिगुन्टामा समुन्द्रपारीको सपना पोको पारेर
एयरपोर्टबाट उड्नेहरुको
विशाल जुलुसले
यहाँ एक आना पनि अवसर छैन भन्ने
सिद्ध गर्दैन र ?

केपी कमरेड !
तँपाईले कबिता कोर्दा
चन्द्रागिरीबाट यता
सिंहदरबारतिर मात्रै दृष्टिगोचर गर्नुभो
कि,
उता सिमभञ्ज्याङ्गतिर पनि
छड्के आँखा लाउनुभो ?
जमानामा तँपाइको
एकजना आदर्श मान्छे रुदानेले सिमभञ्ज्याङ्गबाट
चन्द्रागिरीपट्टी दुरबीन लगाउँदै
सिंहदरबारलाई
एक झिल्को बाण हानेको याद छ ?
“जो जति शक्तिमा छ,
समाज सप्रे या बिग्रेमा
त्यो त्यति नै जिम्मेवार छ”

डियर पियम !
आइन्दा माइकमा मुख जोड्दा
सादा पन्नामा कबिता कोर्दा
मृत्युपछिको सपनाको
श्वेतपत्र मात्रै सुनाएर
बाँचुञ्जेल शक्तिको
उन्माद मात्रै ओकल्ने कि
बिग्रेको समाजको
र,
तपाईं खुबै कुदिरहेको
दलाल पूँजीबादी गन्तब्यको
बिग्रने निश्चितप्राय: समाजको
मुख्य हिस्सेदारी पनि लिने !?

प्रतिक्रियाहरु