‘कृष्ण सेन निरन्तर क्रान्तिका योद्धा’

२०७४ जेष्ठ १३ गते, शनिबार

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढा ‘विषम’ले पत्रकार कृष्ण सेन ‘इच्छुक’ निरन्तर क्रान्तिका योद्धा भएको बताएका छन् । दलाल संसदीय व्यवस्थाले थोपरिरहेको स्थानीय चुनाव खारेजीको सन्दर्भमा सेनको योगदानको स्मरणले क्रान्तिकारीहरुलाई ऊर्जाशील बनाउने बताए । १५औं कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा अखिल नेपाल जनसाँस्कृतिक महासंघ उपत्यका विशेष ब्यूरोले संवाद डबलीमा आयोजित ‘कवि गोष्ठी’ कार्यक्रममा नेता बुढाले सो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा सर्वहारा वर्गको मुक्तिका लागि भएको जनयुद्धका क्रममा पत्रकार एवं साहित्यकार सेनले दुश्मनसामु नझुकी बलिदानको बाटो रोजेर क्रान्तिको बाटोमा लामवद्ध हुन ऊर्जा प्रदान गरेको भन्दै सहिद सेनको स्मरण गरियो ।
‘क्रान्ति सम्पन्न भएको छैन । तत्कालीन जनयुद्धका नेतृत्वमा विचलन आएपनि क्रान्तिकारी जनताले निरन्तर क्रान्ति गरिरहेको छ’ नेता बुढाले भने ‘सर्वहारा वर्गको मुक्ति नभइन्जेल संघर्ष चलिरहनेछ ।’ सहिद सेनले समाचार, कविता र अभिव्यक्तिको माध्यमबाट क्रान्तिलाई निरन्तरता दिन अमूल्य योगदान पुर्याएको बताए । सेनको हत्यारालाई कारवाही गर्नुकाे साटाे जनयुद्धका नेतृत्वले संसदीय प्रणालीमा छिरेर पुरस्कृत गरेर परिवर्तनकामी क्रान्तिकारीहरुको शिर झुकाउने काम गरेको नेता बुढाले बताए ।
अधुरो क्रान्ति पूरा गर्नाकै लागि नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा पकडेको बताउँदै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि सबै क्रान्तिकारीहरु एकतावद्ध हुनु आजको आवश्यकता रहेको बुढाको भनाई छ । ‘क्रान्तिको बाँकी कार्यभार पूरा गर्न देशभक्त र राष्ट्रवादी शक्ति एकै ठाउँमा उभिनुपर्छ । अन्यथा, दुश्मनले सोझै निल्ने खतरा छ । खतरा पार लगाउने भनेको वैज्ञानिक समाजवादी सत्ताले मात्र गर्नेछ’ नेता बुढाले भने । साथै वैज्ञानिक समाजवादी स्थापना नभएसम्म देशमा क्रान्ति निरन्तर चल्ने बताए ।
पटकपटक जेल जीवनबाट छुटकारा पाएपछि पत्रकार सेनलाई तत्कालीन शाही सरकारले २०५९ जेठ ५ गते राजधानीबाट पुनः गिरफ्तार गरी जेठ १३ गते प्रदर्शनीमर्गस्थित महेन्द्र पुलिस क्लबमा निर्मम यातना दिई हत्या गरिएको थियो ।
कविगोष्ठीमा दर्जन बढी कविता बलराम तिमल्सिना, सागर गुराँगाई, ज्योति भटटराई, झपेन्द्रराज वैद्य, केशब सिलवाल, राजु स्याङतान, पुण्य गौतम, अशोक सुवेदीलगायत कविहरुले निरन्तर क्रान्तिको पक्षमा कविता वाचन गरेका छन् । कार्यक्रम ब्यूरोका संयोजक कुशल बोगटीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु