कृत्रिम बादलबाट पानी पार्ने योजना

२०७३ भाद्र ३१ गते, शुक्रबार

काठमाडौं, ३१ भदौ । भियतनामले आकाशमा कृत्रिम बादल प्रक्षेपण प्रविधि(क्लाउड सिडिङग) गरी जमिनमा वर्षा गराउने नयाँ प्रविधियुक्त गुरु योजनाको आगामी महिना परीक्षण गर्ने भएको छ । स्थानीय दैनिक पत्रिका तिएन फोङगको शुक्रबारको अङ्कमा प्रकाशित समाचारअनुसार हानोइको मध्यवर्तीनगर दा नाङगस्थित आङ् सिङ जाङ साइन्स एण्ड टेक्नोलोजि कम्पनीले भियतनाम सरकारसँग सो गुरु योजना सम्पन्न गर्नका लागि पाँच हजार अर्व भियतनामी दोङ्ग (बाइस करोड चालीस लाख अमेरिकी डलर) रकम माग गर्दै एक प्रस्ताव पेश गरेको छ । कम्पनीसूत्रका अनुसार उक्त रकम कृत्रिम बादल प्रक्षेपण गरी भनेकै ठाउँमा चाहिएजति वर्षा गराउने प्रयोजनका लागि विशाल प्राविधिक बाटा तथा हेलिकोप्टर, बेलूनजस्ता वायुयान खरीदमा लगानी गरिनेछ ।
यस गुरु योजनाको परीक्षण सफल भएमा भियतनामबाट खडेरी वा अतिवृष्टिका कारण उत्पन्न हुने बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपलाई सदाका लागि विदा दिन सकिनेछ ।
सो कम्पनीका महानिर्देशक फाङ डिङ फोङ्गले बताउनु भएअनुसार विशाल बाटाले समुन्द्रको पानीलाई अनुमानित पाँच किलोमिटर आकाशमाथि हेलिकोप्टर वा बेलूनको प्रयोग गरी जडान गरिएका मसिना पाइपभित्र छिराई भनेकै ठाउँमा चाहिएजति परिमाणमा वर्षा गराउन मिल्नेछ ।
त्यसैगरी जमिनमाथि बाक्लो बादल वा कालो मेघ देखापरेमा तत्कालै हेलिकोप्टर वा बेलूनको प्रयोगबाट आकाशमा मसिना पाइप बिच्छ्याई त्यसभित्र बाक्लो बादल वा कालो मेघभित्र रहेका जलवाष्प (जलकण) छिराई समुन्द्रमा मुसलधारे वर्षा गराई जमिनमा अतिवृष्टिका कारण उत्पन्न हुने बाढी पहिरो आदि सजिलैसँग रोक्न पनि सकिन्छ ।
गुरु योजना अन्तर्गत आगामी अक्टोबर महिनाको अन्त्यसम्ममा भियतनामको नजिक पर्ने बेइबु खाडी इलाकाको समुन्द्रमाथि एक सयवटा अत्याधुनिक वर्षा प्रवाह स्टेसन निर्माण गरी कृत्रिम वर्षा गराउने वा जलवाष्प (जलकण) नियन्त्रण केन्द्र स्थापना गरिसक्ने तथा यस प्रविधिको परीक्षण पनि गरिसक्ने लक्ष राखिएको छ ।
गुरु योजना सम्पन्न गर्न भियतामका सम्वन्धित मन्त्रालय तथा निकायसँग समन्वय र छलफल गरिरहेको पनि महानिर्देशक फोङ्गले बताउनुभयो ।
कृत्रिम वर्षा गराउने वा वर्षा नियन्त्रण गर्नमा प्रयोग गरिने रसायन सबै भियतनाम मै पाइने हँुदा स्वदेशकै उत्पादन र स्वदेशकै प्रविधि प्रयोग गरी पारिने वर्षालाई पनि “मेड इन भियतनाम” भनिनु उचित हुने कुरा महानिर्देशक फोङ्गले ब्यङ्गात्मक ढङ्गबाट बताउनु भएको छ । -रासस-सिन्ह्वा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार