कुमारीपाटी महोत्सव हुने

२०७१ बैशाख १० गते, बुधबार


काठमाडौं, १० वैशाख । आगामी वैशाख १२ र १३ गते ललितपुरको कुमारीपाटीमा जावलाखेलमा महोत्सव हुने भएको छ । कुमारीपाटी जावलाखेल महोत्सव मूल समितिले आज पत्रकार सम्मेलन गरेर इटी चोकदेखि कुमारीपाटी, तफाल्हो, जावलाखेलसम्म करिब १ किलोमिटर दूरीको क्षेत्रमा पहिलो पटक विभिन्न सांस्कृतिक कार्यक्रमका साथ पहिचानसहितको कुमारीपाटी जावलाखेल महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष पुष्प रत्न शाक्यले महोत्सवको उद्घाटन १२ गते शुक्रबार ३ बजे उप–प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गर्ने जानकारी समेत दिए । संस्कृतविद सत्यमोहन जोशीको विशेष आतिथ्यमा हुने महोत्सवको प्रवेशद्वार इटी चोक, लगनखेल कुमारीपाटी चोक र जावलाखेल चोकमा राखिने छ ।शाक्यले महोत्सवमा सांस्कृतिक कार्यक्रम सुरु हुनु अघि बि–वोइङ्, बाइक स्टन्ट शो लगायतका मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिने बताउदै कार्यक्रमलाइ अझै रोचक बनाउन किड्स जोन, फेश पेन्टिङ्, ट्याटु, विभिन्न परिकारका फूड स्टल, हस्तकला र अन्य व्यवसायहरुको व्यापार प्रर्वद्धन गर्न करिब २ सय वटा स्टलहरु पनि राखिने जानकारी दिए ।
उनले महोत्सवको दुवै दिन नेपालको सांस्कृतिक सम्पदाको विभिन्न ८ प्रकारका नृत्यहरु सडकमा प्रस्तुत गर्ने, महोत्सवको दोस्रो दिन फिस्टेल एयरबाट पुष्पबृष्टि पनि गरिने बताए । शाक्यले उपत्यकामा भएका अरु महोत्सव मध्ये यस महोत्सवलाई सवैभन्दा व्यवस्थित एवम अविस्मरणीय बनाउने दावी गर्दै आन्तरिक तथा बाह्य गरि करिब पाँच लाख आगन्तुकहरुले यो महोत्सव अवलोकन गर्ने विश्वास ब्यक्त गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार