कुमारीको दर्शन सर्वसाधारणलाई खुला

२०७२ असार १७ गते, बिहीबार

काठमाडौँ, १७ असार । वसन्तपुरस्थित कुमारीघरमा जीवित देवी कुमारीको दर्शन सर्वसाधारणलाई आजदेखि पुनः खुला गरिएको छ ।गत वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण त्यस क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न कडाइ गरिएको थियो । भूकम्पपछि कुमारी घर जोखिममा परेकाले केही साता कुमारीको समेत बसाइ सार्नु परेकाले सर्वसाधारणलाई दर्शन बन्द गरिएको थियो ।
स्थानीय कुमारी घरको दुई तलामाथि बस्दै आउनुभएकी नौ वर्षीया कुमारीलाई आँगन चोक नजिकैको भुइँतलाको सुरक्षित स्थानमा राखिएको थियो । भूकम्पको प्रभाव कम हुँदै गएपछि कुमारीलाई यथास्थानमा नै सारिएको भएपनि भक्तजनलाई दर्शनको व्यवस्था हुन सकेको थिएन । भूकम्पअगाडि कुमारीले आफ्नो आसनमा बसेर भक्तजनलाई दर्शन दिने व्यवस्था रहेकामा अहिले पनि सोही परम्परालाई निरन्तरता दिइएको छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् कुमारीको रेखदेख गर्दै आउनुभएका गौतमरत्न शाक्यले बिहान ७ देखि ९ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म त्यहाँ आउने भक्तजनलाई औपचारिकरुपमा दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
भूकम्पले कुमारी घरको संरचनामा समेत नराम्रो प्रभाव पारेकाले त्यसलाई चाँडै जीर्णोद्धार गर्नु आवश्यक देखिन्छ । अहिले महानगरपालिकाले कुमारी घरलाई टेका दिएर राखेको छ ।- रासस

प्रतिक्रियाहरु