कुकुर कुट्ने पूर्व अमेरिकी सेनालाई अमेरिका फर्कन अनुमति

२०७४ पुष ६ गते, बिहीबार

काठमाडौं, ६ पुस । कुकुरलाई कुटेर अपांग बनाएको अभियोगमा सजायपछि अमेरिकाबाट देशनिकाला गरिएका पूर्व अमेरिकी जलसेना लाई १५ बर्षपछि अमेरिका आउने अनुमति दिइएको छ । पूर्व अमेरिकी जलसेना मार्को चाभेजलाई अपराधको अभियोगमा देशनिकाला गरिएको थियो भने उनी मेक्सिकोमा बस्दै आएका थिए । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले गत अप्रिलमा माफी दिएका ३ जनामध्येका एक उनी अर्कोसाता क्यालिफोर्निया फर्कने भएका छन् । माफी पछि चाभेजको ग्रिनकार्ड पुनबर्हाली गरिएको छ । अब उनी मेक्सिकोबाट अमेरिकामा रहेको आफ्नो परिवारलाई भेट्न आउने भएका छन् ।
४५ बर्षका चाभेजलाई ३० बर्षको उमेरमा जनावरमाथी निर्दयी भएको अभियोगमा सजाय दिएर देशनिकाला गरिएको थियो । अमेरिकी सेनामा जागिरका लागि अमेरिकी नागरिकता आवश्यक पर्दैन, ग्रिनकार्ड भए पुग्छ । तर अरु ग्रिनकार्डभएकाहरुजस्तै अपराध गरेको खण्डमा अमेरिकामा पूर्व अमेरिकी सेनाहरु पनि देशनिकाला हुनसक्छन् । अमेरिकी सरकारले देशनिकाला गरिएका पूर्व सेनाको विवरण उपलब्ध नगराएपनि अमेरिकन सिभिल लिबर्टी युनियनले झण्डै २ सय यस्ता केसहरुको विवरण राखेको छ । क्यालिफोर्नियाका पूर्व एसेम्ब्लीम्यान नाथन फेचरले सुरु गरेको अधिकारवादी समुहले अमेरिकी सेनाबाट सम्मानपूर्वक रिटायर्ड भएका तर देशनिकालामा परेकाहरुलाई माफी दिलाउन पहल गरेको थियो । चाभेज पहिलो पूर्व अमेरिकी सेना हुन्, जसलाई देशनिकालापछि अमेरिका फर्कन अनुमति दिइएको छ ।
गभर्नरले ४० बर्षका हेक्टर बराजस र ४७ बर्षका एरास्मो अपोड्कालाई पनि क्षमादान दिएका छन् । उनीहरुको आवेदन स्वीकृत भएपछि अमेरिका आएर उनीहरुले अमेरिकी नागरिकताका लागि समेत आवेदन दिन सक्नेछन् ।
चाभेजलाई उनका बाबुआमाले जब उनी १ बर्षका थिए, त्यतीबेला अमेरिका ल्याएका थिए । त्यसपछि उनी लस एन्जलसमा हुर्केका थिए । उनले अमेरिकी जलसेनामा ४ बर्षसम्म सेवा गरेका थिए । सन् १९९८ मा कुकुरलाई अपांग बनाएको अभियोगमा उनलाई दोषी ठहराइएको थियो । १० महिना जेलमा बिताएका उनलाई सन् २००२ मा अमेरिकाबाट देशनिकाला गरिएको थियो । क्षमादान स्वीकृत भएपछि अध्यागमन न्यायाधिसले उनको ग्रिनकार्ड पुनबहालीको फैसला गरेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु