कुकुरको मृत्यु, लाखौं मानिसद्वारा श्रद्धाञ्जली

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको सो कुकुरको मृत्यु विषबाट भएको उनले जनाएका छन् । कसैले दिएको विषबाट आफ्नो कुकुरको मृत्यु भएको जानकारी उनले दिएका हुन् ।
फाबियानोले फेसबुकमा कुकुरको मृत्यु सम्बन्धी दिएको जानकारीलाई ६६ हजारभन्दा बढीले शेयर गरेका छन् । फाबियानोले फेसबुकमा कुकुरलाई सम्बोधन गर्दै लेखेका छन्, ‘त्यहाँ गएर पनि आफ्नो काम जारी राख्नू, हराइरहेका मानिसलाई खोज्नू र उनीहरुको जीवन बचाउनू ।’
वास्तवमा काओसले सन् २०१६ अगस्टमा इटलीमा गएको भूकम्पपछि उद्धारका क्रममा कयौं मानिसको ज्यान जोगाएको थियो । उसले भग्नावशेषमा पुरिएका मानिसको खोजीमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । सोही कारण इटलीमा उक्त कुकुर निकै प्रशिद्ध भएको थियो । उसलाई कतिपयले ‘हिरो’ भन्ने गरेका थिए । शनिबार फाबियानोले फेसबुकमा आफ्नो कुकुर हराएको सूचना दिएका थिए । उनले काओसलाई कसैले देखेमा आफूलाई खबर गर्न आग्रह गरेका थिए ।
केही घण्टापछि उनले अर्को स्टाटस पोस्ट गर्दै काओसको मृत्यु भएको जानकारी दिए । उनले लेखे, ‘तिमीले दिन–रात एक गरेका थियौ, तिमी एक वफादार मित्र थियौ, मेरो मित्र ! दौड, नरोकिनू ।’
फाबियानाका साथ काओस मध्य इटलीमा बस्दै आएको थियो । काओसको मृत्युपछि फेसबुक र ट्वीटरमा लाखौं मानिसले श्रद्धाञ्जली अर्पणसहितका सन्देश दिएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु