कि त स्वभिमान कि बलिदान – झपेन्द्रराज बैद्य

२०७४ चैत्र ४ गते, आईतवार

आफ्नै बारेमा रहरको होइन
पीडाको गीत गाउन मनलाग्छ।
आफ्नै गतिमा
हुरी बन्न मनलाग्छ।
अन्यायको बिरुद्ध
बम बन्न मनलाग्छ।
हो साहित्य एउटा बम हो।
अन्यायको बारुदमा
बिष्फोट हुन मनलाग्छ।
जीवन एउटा लडाइ हो
बादशाहसँग भिडन मनलाग्छ।
खहरे होइन
मनसुनी बन्न मनलाग्छ।
रातो इतिहास हेर्दा
जीवन त काँडा हो भन्ने लाग्छ।
एउटा अभेद्य काँडा।
हावा पानी तापक्रम
र, माटोसँग संघर्षको
परिणाम हो फूल
हावा हुरी असिना
र, पसिनाको मिलन हो फूल
त्यसैले म फूल होइन
काँडा बन्न सिकें
पञ्चायतीमा सरकारी जागिर
भयो बहिस्कार
शुरुमा त म स्वपाक्य
साँझ बिहान पूजाआजाको रहर
तर जीवन र जगतको
अर्थ बुझदै जाँदा
जातभात त मान्छेले बनाएको
मनु ग्रन्थ पो रहेछ।
गरुड पुराण पाँचसय वर्ष पहिले
मान्छेको परिकल्पना रहेछ।
प्रकृति बिरुद्धको संघर्षमा
देउता र दानब बने
अभाबै अभाबको जीवन भूलाउन
यस लोकमा धर्म गरे
परलोकमा सुख समृद्धि,
यसैमा हाम्रो बिश्वास र निष्ठा छ
युगौ युगको निष्ठा
चट्टान बनेको हुन्छ
त्यसलाई फोर्न खोजे
मानिस पागल बनाइन्छ।
हो, गेलिलियो पनि त पागल बने
पृथिबी एउटा उपग्रह
सूर्यको वरिपरि घुम्छ भन्दा
ग्यालिलियो साँच्चै पागलै बने।
तर चेतनाको रुपान्तरण
बिचारको उन्नयन
जीवनको उदात्त गति हो
जगत ज्ञय पदार्थ गतिशील हो।
धर्म त पीडाको सुस्केरा हो।

बडो हास्यास्पद र चमत्कार
हिँजका भौतिकबादी
आज भैंसी पुज्ने भए भन्छन्।
यो हो छलाङ् यात क्रमभङ्गता?
चाटुकार यात चमत्कार!
कम्युनिष्टको भेषमा देश खाने
अहिले बिष्णुको अवतार?

अरुले मलाई जस्तो देख्छन्
म त्य ही छुँ।
तर मैले मुख छोपेर
लाज पचाउन चाहन्न।
मेरो आदर्श लुकाउन चाहन्न।
मेरा सपनाहरु
डलरमा बेच्न चाहन्न।
मेरा सपनाहरु!
कुर्सीमा बिलाउन चाहन्न।
मेरो एउटा क्षण
अबिष्मरणीय क्षण
दिवाकरको लाली चढेको बेला
कस्तो तन्मयता
उषा किरणको चम्किलो
लालित्यसँगै भैंसेपाटीको
एउटा सानो घरमा
क.कृष्ण ब. महरासँगको भेट
एउटा ऐतिहासिक भेट हुन्छ।
त्यो हो एउटा निर्णयक बिन्दुको भेट
हार्दिक धन्यबाद क. महरा
पार्टी एकताका चिन्तक महरा
तर एकता हावामा होइन
बिचार निष्ठा र सिद्धान्तमा हुन्छ।
राजनीति र कार्यनीति
एकताको परिणति
तर मेला हेर्ने भीड होइन एकता।
उत्तर र दक्षिण के को एकता?
एमाले र मा के समान बिचारमा
दक्षिण दक्षिण त्यही हुन्छ एकता।
यसपछि तीन बसन्त बिते
तर बसन्त गर्जन आएन।
सहीदका सपनामा बुट बजारिए।
सहीदका काँधमा टेकेर सिंहदरबार
आफू भए त जगत भलो
षडयन्त्रकारी नेता खबरदार।
भोट हालेको हाल्यै
झोले हनुमान मूर्दाबाद!!!
त्यसैले त अहिले भयो बहिस्कार।
बगिन म खहरेमा
भइन म झिंगा महमा
अरुको पसिनामा के को मोजमस्ती?
बरु आफ्नै पसिनाको ढीडो
आहा! मीठो कति कति!
सूचना वाहक बन्छु कहिले
२०५८ मा लिस्नेको सम्पादन
एउटा बिस्फोटक बन्यो।
१६५ जनाको एस्.यल.आर
मेरो बडिगार्ड बन्यो।
जनताको जीत भन्दै
हाँस्दै हाँस्दै अगाडि बढें।
मानब अधिकार कर्मी बनेर
उनै सेनालाई दिएको प्रशिक्षण
अहिले झलझल संझन्छु।
बिद्रोही र सत्ता पक्ष होस
यात ब्यापारी र शिक्षक
जीवन रक्षाको माग
र, बिज्ञप्ती
जिल्लास्तरीय मोटरबाटो
पाटी पौवा र प्रतिक्षालय
द्वन्द्वकालमा शिलान्यास गरें
सामन्त र शोषकहरु
जनताको घेरामा थिए।
तर आज नेताहरु
बन्दी बनाउदै मानबअधिकार
उल्टो यात्रामा हिडिरहेछन्।
यसैले त दलालहरु उफ्रिरहेछन्।

मृगचर्म ओढेका स्यालहरु
कम्युनिष्टको हुइयाँ छोडिरहन्छन्।
जुँगेलडाइ लडिरहन्छन्
जनतालाई लैनो गाई
अन्तः बिन्यास छ
आत्म लघुताभाष
जनसंघर्षमा हुदैन
शोषकको होस्हवास्।
कति पोखौं गीत
जति पोखे नि थोरै हुन्छ।
अधिकार पाउनेले भ्रष्टाचार गर्छ
अधिकार नहुने के माथि पुग्छ?
बिदेशी एजेन्टहरुको गठजोड
महाकालीको इतिहास छ
लम्पसारबाद मूर्दाबाद
देश त बेहाल छ।
कित स्वाभिमान
कित बलिदान
बचाऔं देश
जुटौ देश भक्त
बन्दैन मुलुक
नलडे शसक्त।

प्रतिक्रियाहरु