अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)द्वारा ३० बिघा जग्गा कब्जा

२०७७ जेष्ठ १२ गते, सोमबार

काठमाडौँ , १२ जेठ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले कपिलवस्तु नगरपालिका वडा नं. ११ रेहरामा ३० बिघा जग्गा कब्जा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष गल्फासले प्रेस विज्ञप्ति जारी गर्दै बर्षौदेखि जमिनदारी गर्दै आएका र हाल गयल जमिनदारहरु रहेका गृजेश सिंह, चन्द्रभान सिंह र अनिल सिंहले जोतभोग गर्दै आएको जमिन कब्जा गरेको बताएका छन् । उनले उक्त जग्गामा कसैले कुनै पनि कामकारवाही नगर्न, नगराउन र अटेरी गरे कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।
कपिलवस्तु जिल्ला अध्यक्ष गल्फासले विज्ञप्तिमा भनेका छन्, ‘अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) विगतदेखि किसानहरुका हक, हित, सुरक्षा र न्यायका लागि संघर्षरत संगठन भएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा कपिलवस्तु जिल्ला अन्तरगत साविक जहदी गा.वि.स. वार्ड नं. ७ हाल कपिलवस्तु नगरपालिका वार्ड नं. ११ रेहरामा वर्षौ पहिलेदेखि जमिनदारी गर्दै आएका र हाल गयल जमिनदारहरु रहेका गृजेश सिंह, चन्दमान सिंह र अनिल सिंहको करिव ३० विगाहा जग्गा लामो समयदेखि त्यही ठाउँका किसानहरुले जोतभोग गर्दै आएका छन् ।’
गल्फासले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘वि.सं. २०४७ सालमा त्यहाँका किसानहरु इस्लाम शेख, मोहम्मद अलि शेख, मुहमद मुस्तफा, मनसा जोलहा लगायतले ती जमिनदारबाट जग्गा किनेका तर अहिलेसम्म जग्गा पास नगरिदिएकोले किसानहरु अत्यन्तै अन्यायमा परेका छन् । पटक पटक संगठनकोले पहल गरेर जग्गा पास गराईदिन प्रयास गरे पनि कुनै सुनुवाई नभएको र ती जमिनदारले किसानलाई ठगि गर्दै आएकोले आम जोताहा र पीडित किसानको हकहित रक्षार्थ किसानहरुकै माग बमोजिम उक्त जग्गा संगठनको तर्फबाट रोक्का गरिएको जानकारी गराइन्छ ।’
अध्यक्ष गल्फासले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘संगठनको उपस्थिति र सल्लाह विना उक्त जग्गामा केही कसैले कुनै पनि कामकारवाही नगर्न नगराउन यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ । यदि कसैले अटेरी गरी कुनै कामकारवाही गरेमा स्वयं जिम्मेवार हुनु पर्नेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु