किसानलाई ६ प्रतिशत व्याजदरमा ऋण

२०७१ कार्तिक ११ गते, मंगलवार


काठमाडौं । किसानहरूले अबदेखि बैंकबाट ६ प्रतिशत व्याजदरमै कर्जा पाउने भएका छन् ।अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई कृषिमा आकषिर्त गर्न बजेटमार्फत व्याजलगायतमा अनुदान दिने घोषणा कार्यान्वयनमा आएसँगै युवा किसानले ६ प्रतिशतमै कर्जा पाउने भएका हुन् ।
अनुदान प्राप्त गर्नका लागि २१ वर्षदेखि ४५ वर्षसम्म युवाहरुले बैंकमा निवेदन दिनुपर्ने हुन्छ ।
सरकारले ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदानसम्बन्धी कार्यविधि २०७१’ कार्यान्वयनमा ल्याएको छ । मन्त्रीपरिषदले दशैंअघि पारित गरेको कार्यविधि नेेपाल राष्ट्र बैंकले सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।
केन्द्रीय बैंकले सोमबार नै बैंक तथा वित्तीय संस्थाहरुलाई कार्यविधि कार्यावन्वयन गर्न निर्देशनसमेत दिएको छ ।
कार्यविधिमा के छ ?
एकजना ग्राहकलाई बैंकले एक करोड रुपैयाँसम्म लगानी गर्न सक्ने र सावाँ तथा व्याज भुक्तानीको अवधि तीन महिनाको हुने कार्यविधिमा उल्लेख छ ।त्यसैगरी एक वाणिज्य बैंकले व्याज अनुदान पाउने गरी एक वर्षमा १ अर्ब रुपैयाँसम्म कर्जा दिन सक्ने छ । र, त्योभन्दा बढी हुनेगरी कुनै बैंकले कर्जा लगानी गरेको भए राष्ट्र बैंकमा सम्पर्क गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।
व्याज अनुदान दिइने कृषि कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्ष हुने छ भने ऋणीले अनुदानबाहेकको रकम बैंकमा भुक्तानी गरेपछि मात्रै व्याज अनुदान पाउनेछन । अनुदानको व्याजदर सरकारले प्रत्येक वर्ष पुनरावलोकन गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।
व्याज अनुदान दिने कर्जाको सदुपयोग नभएमा राष्ट्र बैंकले अनुदान दिने छैन । यदि दिइसकेको भए पनि फिर्ता गर्ने कार्यविधिमा उल्लेख छ ।
अनुदान प्रक्रिया
व्याज अनुदानस्वरुप प्रदान गरिने रकम उपलब्ध गराउने प्रयोजनका लागि सरकारले राष्ट्र बैंकमा ‘कृषि कर्जा व्याज अनुदान शोधभर्ना’ खाता खोल्ने छ । सो खातामा अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ अगि्रम जम्मा गर्नेछ ।
उक्त रकमबाट राष्ट्र बैंकले व्याज अनुदान वितरण गर्ने छ । सो रकमले नपुगेमा आवश्यक रकम थप गर्ने कार्यविधिमा उल्लेख छ । बैंकहरुले व्याज अनुदानका लागि राष्ट्र बैंकसमक्ष निवेदन लेख्नु पर्नेछ ।
कार्यर्विधि बमोजिम कर्जा प्रवाह गरी सरकारबाट पाउनुपर्ने व्याज अनुदान बापतको रकमलाई पुँजी कोष अनुपात गणना गर्ने प्रयोजनका लागि सरकारमाथिको दावी सरह शुन्य प्रतिशत जोखिम भार प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु