किम चलाख नेता : ट्रम्प

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग गरेको संयुक्त सहमति प्रत्यक्ष र उपलब्धिमूलक भएको बताएका छन् । मंगलबार सिंगापुरमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले विश्व इतिहासका लागि सिंगापुर वार्ताको उपलब्धि महत्वपूर्ण भएको जिकिर गरे । उनले युद्धको खेल रोक्ने भन्दै किमले मिसाइल परीक्षणस्थल नस्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि दिए । उनले उत्तर कोरिया पूर्णनिःशस्त्रीकरणतर्फ अघि बढेको विश्वस्त भएपछि दक्षिण कोरियाबाट अमेरिकी सेना फिर्ता गरिने बताए । ट्रम्पले दक्षिण कोरियामा रहेको आफ्नो सैन्य क्षमता घटाउने र संयुक्त सैन्य अभ्यास पनि बन्द गरिने बताए ।
उत्तर कोरियाले आणविक अस्त्र निस्तेज पारेपछि उविरुद्धको नाकाबन्दी हटाइने भएपनि अहिले भने कायमै रहेको ट्रम्पले प्रस्ट पारे । कोरियाली प्रायद्वीपको पूर्णनिःशस्त्रीकरणका लागि उत्तर कोरियाली नेता किमले प्रतिबद्धता व्यक्त गरेको पनि ट्रम्पले जानकारी दिए । वार्ताकाक्रममा उत्तर कोरियामा मानवअधिकारको स्थितिकाबारेमा संक्षिप्त कुरा भएको ट्रम्पले बताए । ट्रम्पले उत्तर कोरियाली शासक किम ‘चलाख नेता’ भएको भन्दै २६ वर्षमा सत्तामा आएका उनले देशका लागि धेरै गर्न बाँकी रहेको बताए । उत्तर कोरियाली नेता किमलाई ‘ह्वाइटहाउस’ भ्रमणको निम्ता दिँदै ट्रम्पले उपयुक्त समयमा प्योङयाङ भ्रमण गर्ने जानकारी पनि दिए ।-एजेन्सी

प्रतिक्रियाहरु