काष्ठमण्डपको पुनर्निर्माण कार्य सुरु

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु गरेको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा क्षमा पूजा गरेसँगै यसको निर्माण सुरु गरिएको हो । तीन वर्षअघि वैशाख १२ मा गएको भूकम्पका कारण ढलेको काष्ठमण्डपको आजबाट निर्माण सुरु भएको हो ।
महानगरपालिकाले यसको निर्माणको जिम्मा भने स्थानीय सहयोग समितिलाई दिइएको छ । जसले निर्माणका लागि आवश्यक सहयोग रकम जुटाउनेदेखि निर्माणको कामसमेत अघि बढाउनेछ । सहयोग समितिलाई निगरानी गर्न मेयरको नेतृत्वमा एक निर्देशक समिति समेत बनाइएको छ ।
कार्यक्रममा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले तीन बर्षभित्र काष्ठमण्डको पुनर्निमाण सकाइने बताए । सम्पदाहरुको पुनर्निमाण हुन नसक्दा अन्तर्राष्ट्रिय क्षेत्रमा समते नकारात्मक सन्देश प्रवाह भएको भन्दै मन्त्री अधिकारीले यसका लागि स्थानीय व्यक्तिहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका क्षतिग्रस्त भौतिक संरचनाको निमार्ण पुरानै शैलीमा हुने बताए । जनताको चाहना अनुसारको निमार्ण कार्यलाई अगाडि बढाइने उनको भनाई थियो ।
संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिको संरक्षणको लागि पनि यस्ता भौतिक संरचनाको पुननिर्माण चाँडो हुुनु जरुरी रहको बताए । पुरातत्व विभागकाअनुसार यसको पुनर्निर्माणका लागि झन्डै १९ करोड रुपैंया लाग्ने छ । नियमित रुपमा काम अघि बढ्ने हो भने आगामी २ बर्षभित्र यसको निर्माण सकिने छ ।

प्रतिक्रियाहरु