काल सर्प योगमा विश्वास नगर्न आग्रह

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौँ, १२ साउन । राजधानीमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क रहन आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै उहाँहरुले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गर्नुभयो । काल सर्प योगका नाममा ४०० व्यक्तिबाट प्रतिव्यक्ति रु पाँच हजार दरले रकम उठाई ठगी गरिरहेको उहाँहरुको भनाइ थियो ।
नेपाल पञ्चांग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले कालसर्प योग शास्त्र विरुद्धको कुरा हो भन्दै यो अप्रमाणित, अशास्त्रीय श्लोक भएकाले ज्योतिषी पनि सतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले जनैपूर्णिमाको दिन ग्रहण परेकाले उपकर्म तथा रक्षाबन्धन नाग पञ्चमीका दिन गर्नुपर्ने बताउनुभयो ।
परिषद्का अध्यक्ष माधवराज पाण्डेले काल सर्प योगको नाममा दिन दहाडै सर्वसाधारण तथा अशिक्षित नागरिक ठगीमा परिरहेकाले सञ्चार माध्यमले यसलाई प्राथमिकता दिएर प्रसारण गरी ठगी कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले काल सर्प योग गलत, भ्रमपूर्ण भएको तथा तर्कपूर्ण नभएको भन्दै यो सरासर ठगी धन्दा भएको बताउनुभयो ।
ज्योतिषी कृष्ण अधिकारीले ब्रह्मवीर ग्रन्थमा काल सर्प योगबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै धेरै मानिस ठगीमा परिसकेको बताउनुभयो । नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले यसबर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उपकर्म, रक्षाबन्धन धर्मशास्त्र र परम्परा नाग पञ्चमीमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले अर्ध रात्रिकाल भन्दा अगाडि ग्रहण प¥यो भने नागपञ्चमीमा रक्षाबन्धन गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले ‘हिन्दू धर्मको मूलग्रन्थमा कहीँ पनि कालसर्प योग भेटिएको छैन, त्यसैले कालसर्प योग सत्य होइन, यो सरासर ठगी हो,’ भन्नुभयो ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार