कालो साडीमा तीज !

२०७५ भाद्र २७ गते, बुधबार

काठमाडौं, २७ भदौ । कञ्चनपुरका महिला कालो साडी लगाएर बिरोधमा उत्रिएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उनीहरु कालो साडी लगाएर बिरोधमा उत्रिएका हुन् । सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् ।
सौभाग्यको प्रतीक रातो साडी, चुरा, पोते लगाएर अन्यत्र महिलाले हरितालिका (तीज) मनाइरहेको समयमा महेन्द्रनगरका महिलाले भने कालो साडी लगाएर घटनाको विरोध गरेका छन् । हत्यारा पत्ता लगाउन माग गर्दै गठित दबाबमूलक संघर्ष समितिले आज महेन्द्रनगरको मदनचोकमा निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै धर्नासमेत दिएको छ । धर्नामा सहभागीहरुले निर्मलाका वास्तविक हत्यारा पत्ता लगाउन दबाब दिँदै आन्दोलन जारी राख्ने बताएका छन् ।
सरकारले गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाउन ढिला गरेको र जिम्मेवारीबाट भाग्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु