कालोबजारी गर्दै गर्दा जगदम्बा सिमेन्ट र स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ

२०७६ चैत्र २६ गते, बुधबार

काठमाडौं , २५ चैत । ‘तपाईंसँग ज्वरो नाप्ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु र्पयो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे । त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि सुलभले १५ हजारमा कुरा मिलाए। ती ग्राहक एक्लैले सय पिस थर्मल गन मागेपछि त्यसको जोहो गर्दै सुलभले मंगलबार बिहान उपलव्ध गराउने वचन दिए। तर ग्राहकले एकमुष्ट पैसा छैन भनेपछि सुलभले जति पैसा छ, त्यतिको मात्रै लैजानुस भनेपछि ग्राहकले १० लाख रुपैयाँ जोहो गरे।
सुलभले मंगलबार बिहान नक्सालमा सामान लिन ग्राहकलाई बोलाए। पहिले भएको कुराकानी बमोजिम नै ग्राहक उनलाई भेट्न नक्साल गए। सुलभ कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने २०९ एचसीसी–१ नम्बर प्लेटको गाडीमा भेटिए। ग्राहकले फोन गरेर उनको गाडी नजिकै गए। सामान निकालेर १० लाख रुपैयाँ बुझाउन नपाउँदै सुलभलाई ती ग्राहकले नियन्त्रणमा लिए।
आफू प्रतिष्ठित उद्योगपति रहेको भन्दै पक्राउ नगर्न सुलभले आग्रह गरेका थिए। उनी शंकर ग्रुप तथा जगदम्बा स्टिल र सिमेन्टका सञ्चालक पनि हुन्।
‘हामी थर्मल गन किन्ने ग्राहक होइनौं, प्रहरी हौं,’ यति भनेर सुलभलाई प्रहरीले नियन्त्रणमा लियो। अनि मात्रै थाह भयो, थर्मल गन खरिदका लागि ग्राहक बनेर आएका ती व्यक्ति महानगरीय अपराध महाशाखाका प्रहरी अधिकृत थिए।
त्यसपछि हतास देखिएका सुलभले आफूलाई छाड्न बारम्बार आग्रह गरेका थिए। ग्राहक बनेर आएका ती व्यक्तिसँगै छेउछाउमा निगरानी गरेर अन्य प्रहरी पनि खटिएका थिए। हातमा प्रहरीको परिचय पत्र देखाएर सुलभलाई महाशाखाले नियन्त्रणमा लियो। उनलाई गाडीमै हालेर टेकुस्थित कार्यालय र्पुयाइयो।
अग्रवालले प्रयोग गरिरहेको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी। यो गाडी पनि अवैध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
सुलभ नेपालका लागि किर्गिजस्तानका अवैतनिक दूत समेत हुन्। तर उनले प्रयोग गरिरहेको कूटनीतिक नियोगको नम्बर प्लेट गाडी पनि अवैध रहेको भेटिएको छ। सुलभ पक्राउलगत्तै महाशाखाले अवैतनिक दूतले कूटनीतिक नियोगको गाडी प्रयोग गर्न पाउने÷नपाउनेबारे बुझेको थियो। परराष्ट्रले त्यस्तो सुविधा अवैतनिक दूतलाई नरहेको जानकारी गराएको छ। बरामद गाडीबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
महाशाखाका एसएसपी सहकुल थापाका अनुसार गतसाता मात्रै सुलभले चीनबाट थर्मल गन ल्याएका थिए। नेपाल एयरलाइन्सको जहाजमार्फत उनले २० हजार थान थर्मल गन ल्याएका थिए। बजार मूल्य ५ हजारसम्म भए पनि उनले कालोबजारी गरेर प्रतिगोटा १५ देखि २० हजार रुपैयाँसम्म लिएर बेच्ने गरेको खुलेको थापाले बताए।
‘थर्मल गन महँगोमा बिक्री हुँदै छ भन्ने सूचना पाएपछि प्रहरीले सुरुमा १ सय थान डिल गरेपनि सामान लिन जादा सम्म तीन दिन लाग्ने भएपछि अनुसन्धान भईरहेको खुलासा हुनेभएकाले ६६ थानमात्रै किन्ने गरी कुरा मिलाएको थियो ।
अग्रवाल उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघका उपाध्यक्ष पनि हुन् । वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने र अर्बौ कमाउने नेपालको एक ठूलो व्यावसायिक घराना शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलको विज्ञापनमा हरेक पटक भनिएको हुन्थ्यो ‘जगदम्बा स्टिल राष्ट्र निर्माणमा समर्पित’ ।
जगदम्बा स्टिल राष्ट्र निर्माणमा समर्पित भनेर विज्ञापन गर्ने शंकर ग्रुपका सन्चालक नै देश नै संकटमा परेको बेला ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेर पैसा कमाउन सक्रिय भएको घटनाले निजी क्षेत्रको शाख मात्रै गिरेको छैन ।

कोरोनाको त्रासमा बसेको नागरिकको स्वास्थ्य जाच हुन नसकेको र अस्पतालहरुमा नै ज्वरो नाप्ने थर्मल गनको अभावमा स्वास्थ्य क्षेत्रका स्वास्थ्यकर्मीहरु नै जोखिम मोलेर बिरामिको उपचारमा खटिएकोबेला कालोबजारी गरेर बिक्रि गर्न हिडेकाबेला ६७ वटा थर्मल गनसहित अग्रवाल पक्राउ पर्नुले समग्र निजी क्षेत्र समेत लज्जित भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु