कार्तिक नाच शुरु

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । पाटनको ऐतिहासिक कात्तिक नाच शुरु भएको छ । झण्डै चार सय वर्ष अघि शुरु भएको कात्तिक नाच पाटन दरवार परिसरमा रहेको कात्तिक डबलीमा सोमबार शुरु गरिएको हो । पहिलो सोमबार बाथः प्याखं अन्तर्गत ‘लेवः लायेगु’ नाटक देखाइएको थियो । यस नाचमा कृष्ण लिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिँह अवतार, वस्त्रहरण र दधि लिला लगायतका नाचहरु देखाइने छ । राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको यो नाचलाई संसारकै लामो नाट्य परम्पराको रुपमा लिने गरिन्छ । सिद्धिनरसिंह मल्लले कृष्णलीलामा आधारित नाचहरु प्रदर्शन गरी एक साता चलाएको र उनका छोरा श्रीनिवास मल्लले लोक नाटकहरु थपेर १५ दिन पुर्‍याएको बताइन्छ । श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाचहरु थपी एक महिना सम्म प्रदर्शन गर्ने परम्परा बसालेको इतिहासमा उल्लेख छ । पछि आर्थिक अभाव लगायतका कारणले यो नाच २ दिनमा समेत सिमित हुन पुग्यो । हाल भने नाच १२ दिनसम्म मञ्चन गर्ने गरिएको छ । एक महिना मञ्चनको परम्परा निरन्तर गर्ने उद्देश्यका साथ लागिपरेको कार्तिक नाच संरक्षण समितिले नाच शुरु गर्न गुरु, कलाकार, वाद्यवादकहरुको उपस्थितिमा नासः द्यः पूजा समेत हिजो सम्पन्न गरेको थियो ।

प्रतिक्रियाहरु