कारोनाबाट ५,२३,८९८ जनाको मृत्यु !

२०७७ असार २० गते, शनिबार

काठमाडौँ, २० असार । कारोनाबाट पाँच लाख २३ हजार ८९८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ करोड १० लाख नाघेको छ । अमेरिकामा सबैभन्दा बढि २७ लाख ९३ हजार २२ जना संक्रमित भेटिएका छन् भने १ लाख २९ हजार ४०५ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा १५ लाख ३९ हजार ८१ जना संक्रमित भेटिएकामा ६१ हजार ८८४ जनाको मृत्यु भएको छ । ब्राजिलपछि रुस र भारतमा संक्रमित संख्या धेरै छ । अहिलेसम्म रुसमा ६ लाख ६६ हजार ९४१ जना संक्रमित फेला परेकामा नौ हजार ८४४ जनाले ज्यान गुमाएका छन् । यस्तै, भारतमा ६ लाख २५ हजार ५४४ जना संक्रमित भेटिएका छन्, यी मध्ये १८ हजार २१३ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक समारोह गर्न छाडेका छैनन् । अमेरिकी स्वतन्त्रता दिवस मनाउन ट्रम्प माउन्ट रसमोर जाँदैछन्, जहाँ हुने कार्यक्रममा करिब सात हजार मानिस सहभागी हुने आंकलन गरिएको छ । यो कार्यक्रममा सहभागी हुनेलाई मास्क लगाउन अनिवार्य गरिएको छैन । भौतिक दुरी कायम गर्न पनि कुनै त्यस्तै नियम लगाइएको छैन ।
फ्रान्समा कोरोना भाइरससँग जुध्न सरकारले अपनाएको तरिकाबारे जाँच गर्न एक अदालत गठन गरिएको छ । प्रधानमन्त्री एडर्ड फिलिपसहित अन्य तीन वरिष्ठ अधिकारीहरुमाथि जाँच हुनेछ । फिलिपले शुक्रबार पदबाट राजीनामा दिएका थिए । यी अधिकारीहरुमाथि महामारीका बेला पर्याप्त चिकित्सा उपकरण उपलब्ध नगराएको भन्दै तीखो आलोचना भइरहेको छ । फ्रान्समा अहिलेसम्म २ लाख चार हजार २२२ जना संक्रमित भेटिएका छन् । यी मध्ये २९ हजार ८९६ जनाको मृत्यु भएको छ ।
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीलाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटरमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका छन् । दक्षिण अफ्रिकाका ग्रामिण र गरिबी अत्यधिक रहेका बस्तीमा कोरोना महामारी आगो झैं फैलिएको बीबीसीले जनाएको छ । त्यहाँ लकडाउन खुकुलो बनाइएपछि समस्या झन् गहिरिँदै गएको छ ।

प्रतिक्रियाहरु