कारागारमा ४२ जना मृत भेटिए

२०७६ जेष्ठ १४ गते, मंगलवार

काठमाडौ, १४ जेठ । विभिन्न कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् ।उनीहरुको अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिल अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् । आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए । यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो ।
सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दंगा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जंगल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु