काभ्रेको नौ गाविसका बस्तीमा उच्च सतर्कता

२०७२ असार २१ गते, सोमबार

काठमाडौँ, २१ असार । भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकको विभिन्न नौवटा गाविसका विभिन्न बस्तीलाई उच्च सतर्कतामा राखिएको छ ।
दैवी प्रकोप उद्धार तथा राहत समितिका संयोजक तथा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले ती गाविस पहिरोको उच्च जोखिममा भएकाले नेपाली सेनाको टोली परिचालन गरेर सतर्कता अपनाइएको बताउनुभयो ।
वर्षाको समय छ, जतिबेला जस्तो अवस्था पनि आउन सक्छ त्यसैले त्यस्ता क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो प्रजिअ ढकालले भन्नुभयो । उहाँले दैवी प्रकोप उद्धार तथा राहत समितिलाई सरकारले बस्ती सार्नका लागि १५ दिनको म्यान्डेट दिएको उल्लेख गर्दै आवश्यक तयारी पूरा हुन लागको जानकारी दिनु भयो ।
जिल्लाका अन्य बस्तीमा पनि जोखिममा छन् तर ती बस्ती अलि बढी जोखिममा भएकाले प्राथमिकताका आधारमा काम गरिरहेको प्रजिअ ढकालले बताउनुभयो । सार्न लागिएको बस्तीमा कम्तीमा ४० देखि ८० घरपरिवार रहेका छन् ।
जिल्लाको भूकम्पबाट उच्च जोखिममा रहेका च्याम्रेङबेसी, नार्गेगर्गचे, पोखरीचौरीनारायणस्थान, ज्याम्दी, चण्डेनीमण्डन, शिखरआम्बोटे, बोल्देफेदिचे र दोलालघाट गाविसका विभिन्न बस्ती नजिकैको उपर्युक्त स्थानमा सारिने प्रजिअ ढकालको भनाइ छ ।
केही दिनअघि भूगर्भविद् सहितको टोलीले भूकम्पको उच्च जोखिममा रहेका विभिन्न गाविसको स्थलगत अध्ययन गरेर बस्ती सार्नुपर्ने सुझाव राजनीतिक दल र स्थानीय प्रशासनलाई दिएको थियो । जिल्लाको विभिन्न गाविसका दुई हजारभन्दा बढी व्यक्ति पहिरोको उच्च जोखिममा छन् । पहिरोको जोखिममा रहेका केही विस्थापित भइसकेको छन् भने केही आफन्तको शरणमा बसेका छन् ।
स्वास्थ्य स्वयम्सेवकलाई तालिम
यसैगरी नेपाल मेडिकल एसोसिएसन र द एसोसिएन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलको संयुक्त आयोजनामा काभे्रपलाञ्चोकमा कार्यरत स्वास्थ्य स्वयम्सेवकलाई पोस्ट—अर्थक्वेक साइकोसोसिएल सपोर्ट एन्ड काउन्सिलिङ तालिम सञ्चालन गरिएको छ ।
दुई दिनसम्म धुलिखेलमा आयोजित तालिममा जिल्लाका ४० स्वयम्सेवकको सहभागिता छ । भूकम्पपछि मानिसमा देखिएका मनोवैज्ञानिक समस्या समाधान गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको आम्दा इन्टरनेसनल नेपाल अध्यक्ष डा सरोजप्रसाद ओझाले बताउनुभयो ।
तालिम कार्यक्रममा डा ओझा, डा अन्जिनीकुमार झा, डा मीता राणा, डा अरुण झा, डा पुष्प शर्मा, डा अजय रिसाल र डा प्रभातकिरण प्रधानले भूकम्पपछि पीडित समुदायका महिला, पुरुष तथा बालबालिकामा देखिएको मनोवैज्ञानिक समस्या पहिचान गरी समाधानका विषयमा प्रशिक्षण दिएका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु