कानुन नहुँदा केबुलकार सञ्चालन प्रस्ताव अलपत्र

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ ।
सात महिनाअघि उपत्यकामा अर्बन केबुलकार सञ्चालनका लागि पञ्चकन्या ग्रुप, कालिका कन्स्ट्रक्सन र एयर ट्राम एन्ड अर्बन केबुलले प्रस्ताव गरेका थिए । भौतिक योजना मन्त्रालयका निर्माण तथा यातायात महाशाखाका सिडिई नीरज शर्माका अनुसार अहिलेसम्म केबुलकार सञ्चालनसम्बन्धी प्रस्ताव अघि बढेको छैन ।
‘मास ट्रान्सपोर्ट’का लागि केबुलकारको सम्भाव्यता अध्ययन
सिडिई शर्माले उपत्यकामा ‘मास ट्रान्सपोर्ट’ गर्न सकिने भन्दै अर्बन केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिए ।
तीनवटै कम्पनीले सम्भाव्यता अध्ययन सकेर अर्बन केबुलकार सञ्चालन गर्न प्रस्ताव पेस गरे पनि कानुन अभावमा प्रस्ताव अघि नबढेको उनले बताए । फ्रान्सेली सरकारको सहयोगमा ती देशका प्राविधिकहरूले केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेका थिए ।
‘अर्बन केबुलकार सञ्चालनसम्बन्धी मन्त्रालयमा प्रस्ताव पेस भए पनि प्रस्ताव अघि बढेको छैन । किनकि केबुलकार सञ्चालनसम्बन्धी नेपालमा कानुन नै छैन,’ उनले भने, ‘विनाकानुन ठेकेदार कम्पनीलाई केबुलकार बनाउन दिनुभएन ।’
कसरी सञ्चालनमा छन् मनकामना र चन्द्रागिरि केबुलकार ?
हाल नेपालमा मनकामना र चन्द्रागिरि केबुलकार सञ्चालनमा छन् । चितवन कोईले मनकामना र चन्द्रागिरि हिल्सले काठमाडौंमा चन्द्रागिरि केबुलकार सञ्चालन गरिरहेका छन् । दुवै स्थानमा सञ्चालनमा आएका केबुलकार धार्मिक र पर्यटन विकासका लागि भनी जग्गा लिजमा लिइएको छ । निजी जग्गामा केबुलकार सञ्चालन भए पनि त्यसका लागि कार्यविधि मात्र बनेको सिडिई शर्माले जानकारी दिए । तर, सो कार्यविधि अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
केबुलकारको केन्द्रीय स्टेसन रत्नपार्क : काठमाडौं उपत्यकामा सञ्चालन हुने भनिएको अर्बन केबुलकारको केन्द्रीय स्टेसन रत्नपार्कमा प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार पहिलो चरणमा बौद्धनाथ मन्दिरदेखि विष्णुमतीसम्मको लाइनमा केबुलकार निर्माण गरिनेछ ।
चाबहिल, भण्डारखाल, डिल्लीबजार, रत्नपार्क, दरबार स्क्वायर र विष्णुमतीमा सबस्टेसन बस्ने उल्लेख गरिएको छ । बौद्धनाथदेखि विष्णुमतीसम्मको दूरी सात किलोमिटरको हुनेछ ।
केबुलकारमार्फत यात्रा गर्र्दा सो दूरी पार गर्न ३४ मिनेट २९ सेकेन्ड लाग्नेछ । भाडा प्रतिव्यक्ति ४० रुपैयाँ मात्रै लाग्ने प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार बौद्धनाथदेखि विष्णुमतीसम्मको लाइनमा दुई सय ५० वटा कार राखिनेछ । प्रत्येक कारले १२ जना यात्रु बोक्न सक्नेछ । ती कारले प्रत्येक १५ सेकेन्डमा स्टेसन ओहोरदोहोर गर्नेछन् । प्रतिदिन ७० हजारभन्दा धेरै यात्रुलाई सुविधा दिन सक्ने तीनवटै कम्पनीले पेस गरेको प्रस्तावमा उल्लेख छ । केबुलकार सञ्चालनपछि उपत्यकाको ट्राफिकजाम ३० देखि ४० प्रतिशतले घट्ने र सवारी दुर्घटना, वायु तथा ध्वनि प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु