काठमाडौं भ्यु टावरका ठेकेदार भेटवालविरुद्ध हुन्डी कारोबारको मुद्दा

२०७६ श्रावण १६ गते, बिहीबार

काठमाडौं , १६ साउन । २९ तले ‘काठमाडौं भ्यु टावर’ बनाउने ठेक्का पाएका मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाे अभियोगमा मुद्दा दायर भएको छ। पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माण थालेका मनोजकुमार भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटुवाल र निशा गुरुङलाईविरुद्ध राजश्व अनुसन्धान विभाग हरिहरभवनले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । विदेशी विनिमय ऐनअनुसार कारबाही हुनुपर्ने भन्दै विभागले उनीहरूसँग ४ करोड ६० लाख रुपैयाँका दरले बिगो अनि त्यसको ३ गुणा सजाय र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ ।
भेटवाल पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक हुन् ।
अमिताभ मल्टी प्रपोज प्रालिकी सञ्चालकसमेत रहेकी निशाले सिंगापुरमा रहेका आफन्त, साथीहरू र अन्य व्यक्तिसँग काठमाडौं भ्यु टावरमा लगानी गर्ने भनी रकम संकलन गरी राष्ट्र बैंकको अनुमतिबिना गैरकानुनी रूपमा हुन्डीबाट नेपाल भित्र्याएको विभागको आरोप छ । राजकुमार विष्ट र उनका भाइ शिव विष्टको सहयोगमा भेटवालसँग मिलेमतो गरी रकम प्रयोग गरिएको विभागको अनुसन्धानबाट खुलेको छ । उनीहरुको सहयोगमा साढे ४ करोड बढी रकम ल्याई विभिन्न व्यक्तिहरुलाई वितरण गरेको विभागले जनाएको छ । करिब ६ वर्षअघि ०७२ कात्तिकमा तीन वर्षभित्र टावर बनाउने सम्झौताअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन र्गनुभएको थियो ।
उक्त सम्झौताअनुसार टावर बनाउने निर्धारित समयसीमा ०७५ असारमा नै सकिएको थियो । तर अहिलेसम्म टावरको पाइल हाल्नेबाहेक अन्य काम हुन सकेको छैन । विभिन्न कानुनी अड्चन देखाउँदै निर्माण जिम्मा पाएको बिकोई बिल्डर्सले ढिलाइगरिरहेको छ । यो टावरमा पाँच सय वटा पसलहरू सञ्चालन हुने र त्यसबाट २५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्ने बताइएको छ । सबैभन्दा माथिल्लो तलामा राउन्ड टावर निर्माण गरिनेछ । त्यहाँबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिनेछ । दुई तलामा भूमिगत पार्किङ रहने टावरको सबैभन्दा तल्लो तलामा बसपार्क रहनेछ । त्यहाँ सात वटा लेनमा ठूला बसहरू राउन्ड लगाउँदै बाहिर निस्कने गरी डिजाइन तयार पारिएको छ । एकैपटक दुई सय वटा गाडीलाई सात वटा लेनबाट परिचालन गर्न सकिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार