काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने : मौसमविद्

२०७२ जेष्ठ १४ गते, बिहीबार

काठमाडौं, १४ जेठ । काठमाडौं उपत्यका सहित देशभर अझै गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिम तराईमा तापक्रम बढेसँगै तातो हावा लु चल्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम तराईमा तापक्रम अझै बढ्ने देखिएकाले सावधानी अपनाउन मौसमविद् शान्ति कँडेलले आग्रह गरे । हिजो ४२ दशमलव ७ डिग्री सेल्सियस रहेको दिपायलको तापक्रम आज ४१ देखि ४३ डिग्री पुग्ने अनुमान छ । नेपालगञ्जमा ४० दशमलव ६ डिग्री पुगेको छ । यो अझै बढ्ने महाशाखाको अनुमान छ ।
हिजो ३१ दशमलव २ डिग्री मापन गरिएको काठमाण्डू उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ । आज पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघ गर्जनसहिन पानी पर्ने संभावना छ । मौसमविद् कँडेलका अनुसार अझै केहिदिन दिउँसो ३ बजेपछि विस्तारै मौसम बदली हुँदै जानेछ र बेलुकीपख मेघगर्जन, हावाहुरी र चट्याङसँगै पानी पर्नेछ । उनका अनुसार स्थानिय वायुलाई अरव सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले साथ दिएपछि मौसम बदली भएको हो । यो प्रिमनसुनको प्रक्रिया भएकाले नआत्तिन तर सतर्क भने हुन उनले आग्रह गरे ।

प्रतिक्रियाहरु